कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

वैदेशिक रोजगारीबाट फर्किनेहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण

अनिश तिवारी

सिन्धुपाल्चोक — कोभिड–१९ को जोखिम नियन्त्रणका लागि केही स्थानीय तहका जनप्रतिनिधिले घरमै पुगेर स्वास्थ्य परीक्षणको अभियान थालेका छन् । वैदेशिक रोजगारीमा फर्किएका शंकास्पद प्रत्येक व्यक्तिको घरमै पुगेर शरीरको तापक्रम र स्वास्थ्यको परीक्षण गर्न थालिएको हो । मेलम्ची नगर वडा ३ को बोगराङदेखि प्रत्येक गाउँपिच्छे गएर सयभन्दा बढी परिवारको स्वास्थ्य परीक्षण गरिएको मेलम्ची नगर वडा–३ का अध्यक्ष वसन्त गुरुङले बताए ।

वैदेशिक रोजगारीबाट फर्किनेहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण

‘स्वास्थ्यकर्मी विश्वमणि घोरासैनीसँगै गएर होम क्वारेन्टाइनमा राखिएकाको प्रत्येकको पटकपटक ‘फलोअप’ गरिरहेका छाैं, वडाभर स्वास्थ्य परीक्षण गर्‍यौं, त्यस्तो केही पाइएको छैन्,’ उनले भने । विदेशबाट आएकामध्ये १४ दिनअघि मात्रै आएका मेलम्ची नगर ३ का मोइमान तामाङलाई घरभन्दा अलग्गै रहेको होम क्वारेन्टाइनमा राखिएको उनले सुनाए ।

वैदेशिक रोजगारीबाट फर्किएका वडाभर हालसम्म ५ जना पाइएको र ती सबैको स्वास्थ्य परीक्षण गरेर ७ बेडको क्वारेन्टाइनमा ल्याइँदैछ ।

त्यसैगरी इन्द्रावती र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि गाउँपिच्छै सचेतना अभियानसँगै स्वास्थ्य परीक्षणलाई तीव्र बनाउन थालेका छन् । कोरोनोको जोखिमको न्यूनिकरणको लागि वैदेशिक रोजगारीबाट फर्किनेको घरमा पुगेर स्वास्थ्य परिक्षणमा जुटिरहेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । ‘इन्द्रावतीभर विदेशबाट फर्किएका २४ जनालाई इन्द्रावतीको भिमटारस्थित १५ बेडेको व्यवस्थित क्वारेन्टाइनमा राखेका छाैं, बजारदेखि गाउँभर ‘डिसइन्फेक्टेन्ट’ छर्किएका छाैं,’गाउँपालिका महासंघका महासचिव तामाङले भने । २८ हजार भन्दा बढी जनंसख्या भएको इन्द्रावती सरकारले नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा ६ बेडको सम्पूर्ण स्वास्थ्यकर्मीको टिमसहित ६ बेडको वार्ड आइसोलेशन तयार राखेको छ ।

अवरोध हटाउँदै स्वास्थ्य परीक्षण


त्यसैगरी हेलम्बु गाउँपालिकाले दुर्गमदेखि सुगम बजारक्षेत्रमा स्थानीयले राखेको बाटोको अवरोध हटाउँदै वैदेशिक रोजगारी जाने गाउँलाई केन्द्रित गरेर स्वास्थ्य परीक्षणलाई थालेको छ । स्थानीयले कोरोना त्रसमा सडक छेकेर तेस्र्याएको खाबो पन्छाएर गाउँघरमै पुगेर जनप्रतिनिधिले सचेतना अभियान व्यापक बनाएका छन् ।

सबैतिर स्वास्थ्य र शरीरको तापक्रमण परीक्षणलाई केन्द्रित गरेर हेलम्बु सरकारले ३०८ बेडको व्यवस्थित क्वारेन्टाइन बनाउने अन्तिम चरणमा कस्सिरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘गाउँभर पुगेर सचेतना फैलाउँदै औषधि ,माक्स वितरण गरिरहेका छाैं, घरघरमै स्वास्थ्य परीक्षणको अभियानलाई चर्को बनाएका छौं, हालसम्म त्यस्तो केही पाएका छैनाैं,’उनले भने । त्रिपुरासुन्दरी गाउँपालिका वडा ३ धुस्कुनका अध्यक्ष शुकदेव रिसालले गाउँभर लगाइएको काँडेतार र अवरोध हटाउन अनुरोध गर्दै सचेतनामा दौडिरहेको बताए । १८ बेडको क्वारेन्टाइन स्थापना गरेर गाउँपिच्छे स्वास्थ्यकर्मीसँगै स्वास्थ्य परीक्षणमा लागेको उनले बताए ।

प्रकाशित : चैत्र १८, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?