वीरगन्जमा हैजा रोक्न होटल र मासु पसल अनुगमन

मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था जाँच गरेको हो ।

भाद्र १०, २०८२

शंकर आचार्य

Monitoring hotels and meat shops to prevent cholera in Birganj

पर्सा — हैजाको जोखिम बढिरहेका बेला वीरगन्ज महानगरपालिकाले होटल र मासु पसलहरूमा अनुगमन थालेको छ । मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था जाँच गरेको हो ।

अनुगमनका क्रममा पसल र होटलभित्रको सरसफाइ, खानेपानीको स्वच्छता, सुरक्षित भण्डारण, फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीहरूको निरीक्षण गरिएको थियो । टोलीले व्यवसायीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति विशेष ध्यान दिन चेतावनीसहित सचेत गराएको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको हो । सिंहले हैजा फैलन रोक्न व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै नियमित अनुगमनलाई निरन्तरता दिइने बताए ।

महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियान पनि चलाएको छ । स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खानेकुरा मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully