मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका हुन् ।
जनकपुरधाम — वकिलहरुले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्तिलगायत पत्रकारमाथि हातपात गरेका छन् ।
मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका हुन् । महासचिव क्रान्तिले आफ्नो पैतालाको हड्डी भाँचेको जानकारी दिए । उनका अनुसार पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थाबाट लिजमा लिएको जग्गामा तारबार लगाउन थालेपछि वकिलहरुले पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।
पत्रकार महासंघको प्रदेश समितिले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित रहेको चार कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको छ । उक्त जग्गामा प्रदेश समितिको भुवन बनाउने तयारी छ । तर वकिलहरुले आफ्नो पार्किङस्थल रहेको दाबी गरिरहेका छन् । महासचिव क्रान्तिले साउन १९ गते महासंघको गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता भएको बताए ।
उनले जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गाको लागि सूचना प्रकाशित भएकोमा विभिन्न संघ संस्थाले प्रस्ताव पेस भएकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपश्चात् महासंघले भरेको प्रस्ताव पास भएको बताए ।
महासचिव क्रान्तिले अरुले भरेको प्रस्ताव फेल भएपछि गुठी संस्थानले महासंघले जग्गा पायो भनेर साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरेको बताए । गुठीले साउन ९ गते जग्गा परेको भनेर सम्झौता गर्न पत्र पठाएकोमा साउन १९ गते सम्झौता गरेको बताए ।
