मधेशका पार्टी कार्यालय बनाउन सरकारी ढुकुटीमा राइँदाइँ

एमालेको मिथिला भवनलाई ५० लाख, कांग्रेस पार्टी भवन बनाउन ४० लाख

असार १, २०८२

कमलेश ठाकुर

Madhesh's party office was raided by the government

जनकपुरधाम — मधेश प्रदेश सरकारले राजनीतिक दलको भवन बनाउन सरकारी कोषको दुरुपयोग गरेको छ । एमालेबाट निर्वाचित भएर मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बनेका सरोजकुमार यादवले पार्टी कार्यालय भवन बनाउन रकम छुट्याएका छन् ।

मिथिला भवन नाम दिएर सुरु भएको पार्टी कार्यालयको काम बीचमै रोकिएपछि भौतिक पूर्वाधार मन्त्रालयको ५० लाख रुपैयाँ छुट्याएको हो । बजेट आएपछि धनुषाको जनकपुर उपमहानगरपालिका-४ स्थित अदालत रोडमा एमाले पार्टी कार्यालय निर्माणको काम अघि बढेको छ ।

पूर्वाधार विकास कार्यालय धनुषाका इन्जिनियर ज्योति साहले अहिले ‘इन्टर लक ब्लक’, 'बाउन्ड्री वाल' र अधुरो भवनको छत ढलानको काम भइरहेको जानकारी दिइन् । आर्थिक वर्ष २०८१/०८२ को रेड बुकमा मिथिला भवनको अधुरो भवन निर्माण शीर्षकमा ४५ लाख रकम मात्रै उल्लेख छ । तर, पछि पुनः पाँच लाख थपिएको इन्जिनियर साहले बताइन् । यो काम उपभोक्ता समितिमार्फत भइरहेको उनको भनाइ छ ।

अहिले सब कन्ट्रयाक्टमा प्रणय यादवले काम गरिरहेका छन् । उनले यस विषयमा कुनै प्रतिक्रिया नदिने र चाहिएका विवरण मन्त्रालयबाट नै लिनुपर्ने बताए । मन्त्री यादव र उनको सचिवालयसँग यस विषयमा प्रतिक्रिया लिने प्रयास गरे पनि सम्पर्क हुन सकेन ।

कांग्रेस पार्टी भवनलाई ४० लाख

मधेश प्रदेशका पार्टी कार्यालय निर्माणमा सरकारी रकम दुरुपयोग गरिएको यो पहिलो घटना भने होइन  । यसअघि आर्थिक वर्ष २०७९/८० मा कांग्रेसबाट निर्वाचित भएर भौतिक पूर्वाधारमन्त्री बनेका रामसरोज यादवले पनि कांग्रेस कार्यालयमा भवन निर्माणका लागि बजेट विनियोजन गरेका थिए । ४० लाख रुपैयाँ विनियोजन गरेर पार्टी कार्यालय परिसरमै दुईतले भवन र सभाहल निर्माण गराउने योजना राखेर उनले काम सुरु गराएका थिए ।

Madhesh's party office was raided by the government

उक्त भवनको शिलान्यास कांग्रेस नेता विमलेन्द्र निधि र मन्त्री यादवले संयुक्त रुपमा गरेका थिए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका कृष्ण यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेपछि पुनः २० लाख रकम विनियोजन गरेको कांग्रेस धनुषाका उपसभापति गणेश झाले बताए । ‘फाउन्डेसनको काम भइसकेको छ । वाल र छतको काम हुन बाँकी छ,’ उनले भने, ‘भवन चारतले बनाउने योजना छ ।’ काम सम्पन्न हुने गरी बजेट नआउँदा ढिलो भएको बताउँदै उनले आगामी आर्थिक वर्षमा पनि पैसा छुट्याउन पहल भइरहेको बताए ।

राजनीतिक विश्लेशक रोशन जनकपुरी राजनीतिक दलका पार्टी कार्यालय निर्माणमा सरकारी पैसा खर्च गर्नु गलत अभ्यास रहेको बताउँछन् । यसले नागरिकको राजस्वको दुरुपयोग भइरहेको उनको भनाइ छ । उनले अस्पतालको अभाव रहेको अवस्थामा पार्टी कार्यालयमा लगानी गर्नु शक्तिको दुरुपयोग भएको बताउँदै भने, ‘यो नागरिकको राजस्वको दुरुपयोग हो । यस्तै गतिविधिले नागरिक निराश भइरहेको छन् । नेताप्रति वितृष्णा उत्पन्न भइरहेको छ ।’

Madhesh's party office was raided by the government

कांग्रेसका धनुषा सभापति योगेन्द्र पंजियारले सबै ठाउँमा यस्तै गरी काम भइरहेकाले त्यति गलत भन्न नमिल्ने तर्क गरे । ‘सरकारको पैसा दलको भवन निर्माणमा लगानी नगरेकै राम्रो,’ उनले भने, ‘तर, के गर्नु सबै ठाउँमा त्यस्तै भइरहेको छ । त्यसकारण धेरै गलत पनि होइन । आखिरमा त्यहाँबाट पनि त जनताले नै सेवा लिन्छ ।’

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully