जनकपुरधाम — मधेश प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल हुँदैछ । गएको शुक्रबार प्रदेशसभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि चार जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव, जसपा नेपालकै अर्का सांसद संजय यादव, किरण कुमारी र माओवादीका तर्फबाट मालाकुमारी कर्णले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
उनीहरुले नीति तथा कार्यक्रममा मधेश आन्दोलन र जनयुद्धको जिकिर नगरेकाले त्यसलाई थप्नुपर्ने, मधेश आन्दोलनका सहिद परिवारले पहिला पाएको सुविधालाई निरन्तरता दिँदै नयाँ पनि थप्नुपर्ने र अपांगता व्यक्तिलाई रोजगारी लगायतको व्यवस्था गर्नुपर्ने माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
पहिचानमा स्थापित मधेश प्रदेश तथा स्थानीय तहमा बहुसंख्यकको मातृभाषा मैथिली, भोजपुरी, बज्जिकाको संरक्षण, संवर्द्धन तथा विकासको कुरा थप्नुपर्ने, कमला पुल निर्माणको कुरा थप्नुपर्ने संशोधनकर्ता सांसदहरुको प्रस्ताव छ ।
