‘एक निर्वाचन क्षेत्र, एक सडक’ बनाउँदै मधेश सरकार

१२ सय ७० करोडमा ८ जिल्लामा ६४ वटा सडक बनाइने योजनाको प्रधानमन्त्री ओलीद्वारा आइतबार शिलान्यास गरिँदै

जेष्ठ १७, २०८२

अजित तिवारी

Madhesh government making 'one constituency, one road'

जनकपुर — मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र, एक सडक योजनाअन्तर्गत ८ वटै जिल्लामा ६४ वटा कालोपत्रे सडकको निर्माण थाल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनबाट ६४ वटै सडकको एकैसाथ डिजिटल शिलान्यास गर्दैछन् । भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार सिंहले सडक शिलान्यास र प्रधानमन्त्री ओलीको जनकपुर भ्रमणको सबै तयारी पूरा भएको जानकारी दिए । 

मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले मधेशका ८ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्र(प्रदेश) मा साढे ५ देखि ७ मिटरसम्मको कालोपत्र सडकका लागि स्रोत सुनिश्चित भइसकेको बताए । ‘बहुवर्षीय योजनाअन्तर्गत ३ वर्षमा ६४ वटै कालोपत्रे सडकको निर्माण पूरा गर्ने लक्ष्य छ,’ मन्त्री यादवले भने, ‘त्यहीअनुसार करिब १२ सय ७० करोड रुपैयाँ एक निर्वाचन क्षेत्र, एक सडक योजनामा छुट्टयाइएको छ ।’

सम्बन्धी निर्वाचन क्षेत्रका प्रदेश सांसदले छनोट गरेर दिएका सडकलाई कालोपत्रे गरिनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव संजयप्रसाद साहले एक निर्वाचन क्षेत्र, एक सडक योजनाअन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रमा ५ किलोमिटरको कालोपत्रे सडक निर्माण गरिने जानकारी दिए । 

उनका अनुसार मधेश प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा तीन वर्षमा ३ सय २० किलोमिटर कालोपत्रे सडकको निर्माण गरिनेछ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully