राजविराज — सप्तरीको राजविराज नगरपालिकाको स्कर्पियोले ठक्कर दिँदा साढे चार महिनादेखि अस्पतालमा उपचाररत राजेशकुमार यादवको परिवारजन र आफन्तले उपचार खर्च माग्दै बुधबार नगरपालिका कार्यालयमा अनिश्चितकालिन रिले अनशन बसेका छन् ।
गत माघ १ गते मंगलबार हुलाकी राजमार्गअन्तर्गत जिल्लाको बोदे बरसाइन नगरपालिका–५ स्थित स १ झ ४८१ नम्बरको स्कर्पियोले को ३० प २७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोदे बरसाइन–१ घनगढीका १५ वर्षीय राजेशलाई थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा भर्ना गरिएको थियो ।
उनको साढे चार महिनादेखि उपचार भइरहेको यादवका बुवा रघुनाथ यादवले बताए । ‘उपचारमा अहिलेसम्म २७ लाख खर्च भइसकेको छ तर नगरपालिकाले दुई लाख रुपैयाँ मात्रै दिएको छ,’ उनले भने, ‘आफूसँग पैसा नहुँदा छोरालाई अस्पतालबाट डिस्चार्ज गराउन सकिरहेको छैन ।’
बाध्य भएर नगरपालिका कार्यालयमा अनशन बसेको रघुनाथले दुखेसो पोखेँ । ‘कार्यवाहक मेयर इसरत प्रविनसहितका जनप्रतिनिधिले थप उपचार खर्च दिन अनाकानी गरिरहेका छन्,’ उनले भने, ‘उपचार खर्च नदिएसम्म हामी अनशन बसिरहन्छौं ।’ उनका अनुसार ३८ दिनसम्म आईसीयूमा राखेर उपचार भएको राजेशको हात–खुट्टामा पनि ‘स्टिल’ लागेको छ ।
सोही दुर्घटनामा परेर मोटरसाइकलमा सवार अर्का २१ वर्षीय अजितकुमार यादव पनि घाइते भएका थिए । उपचारपछि उनी घर फर्किएका छन् ।
