नवराजपुर गाउँपालिकामा शिक्षक भर्नामा लाखौँ असुलीको आरोप

बैङ्कबाटै लेनदेन, परीक्षा अगावै प्रश्नपत्र र उत्तर उपलब्ध गराएको आरोप

जेष्ठ १२, २०८२

विनय आजाद

Accusation of extortion of lakhs in recruitment of teachers in Navrajpur Rural Municipality

सिरहा — नवराजपुर गाउँपालिकामा करार सेवामा शिक्षक भर्नाका लागि आर्थिक चलखेल भएको तथ्य भेटिएको छ। गाउँपालिकाले एक सामुदायिक विद्यालयमा करारमा शिक्षक भर्ना गर्दा आर्थिक लेनदेन भएको तथ्य फेला परेको हो।

नवराजपुर–४ सोनवर्षास्थित जनता नमुना (प्राविधिक धार) माध्यमिक विद्यालयमा गत वैशाख २६ मा प्रतिस्पर्धामार्फत १२ जना शिक्षक–कर्मचारी छनोट गरिएको थियो । ती सबै शिक्षक–कर्मचारी आर्थिक लेनदेन गरी नियुक्त गरिएको आरोप छ । 

उम्मेदवारहरूसँग प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म उठाएको आरोप छ । कान्तिपुरलाई प्राप्त एउटा अडियोमा शिक्षक, कर्मचारी भर्ना प्रक्रियामा सम्मिलित पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा हाल योजना शाखा प्रमुख घुरन यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य जिवछ यादवले नै उक्त कुरा बोलेका छन् ।

अडियो संवादमा उनीहरूले कसैले तीन लाख दिएको, कसैले पाँच लाख दिएको सुनिन्छ । यस्तै, प्रशासकीय अधिकृतले केही उम्मेदवारसँग आफूले पनि पैसा बुझेको बताएका छन् भने अन्यसँग गाउँपालिका अध्यक्ष शिवउदगार यादव तथा उनकी पत्नी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र यादव तथा प्रधानाध्यापक मुरारी शर्माले बुझेको संवादका क्रममा उनीहरूले बोलेका छन् ।

खास गरी प्रधानाध्यापक शर्माले अधिकांश उम्मेदवारसँग पैसा बुझेको र त्यसको बाँडफाँडमा तलमाथि हुनसक्ने आशंका गर्दै प्रशासकीय अधिकृत यादवले समिति सदस्य जीवछसँग सोधखोज गरेको उनीहरू बीचको कुराकानीको अडियोमा सुन्न सकिन्छ ।

प्रशासकीय अधिकृत यादवले भनेका छन्, ‘मुकेशको तीन लाख पनि मुरारीसँगै छ, देवरामको पाँच लाख पनि मुरारीले नै लिए, एउटा सप्तरीवाला र प्रभात ठाकुरबाला मात्रै मुखिया र मुखियाइन (गाउँपालिका अध्यक्ष र उनकी पत्नी) साग छ, अरू सबै पैसा मुरारीकहाँ नै छ भने यता के बच्यो ? उसले हिसाबकिताब दिन्छ नि ?’

यस्तै, आफूले एउटा उम्मेदवारको पैसा लिएर पनि काम हुन नसकेको, उक्त पैसा तीन भाग लगाएर खर्च पनि भइसकेको र अहिले फिर्ता गर्नुपर्ने अवस्था आएको भन्दै प्रशासकीय अधिकृत यादवले असन्तुष्टि पोखेका छन् । ‘मैले जुन एक जना उम्मेदवारसँग पैसा लिएको छु, उसको काम भएन, अब मैले फिर्ता गर्नुपर्छ,’ उनले भनेका छन्, ‘तर मैले अध्यक्षजीकै काममा तीन भाग लगाएर त्यो पैसा दिइसकेको छु, अब त्यसको के हुन्छ ? आज मैले नेताइन (अध्यक्षकी पत्नी) लाई पनि यो कुरा भनेको छु ।’

संवादका क्रममा प्रशासकीय अधिकृत यादवलाई शान्त पार्न जीवछले सबै पैसाको हिसाबकिताब प्रधानाध्यापक शर्माले दिने बताएका छन् । ‘सबै पैसाको हिसाबकिताब मुरारीले दिन्छ, नदिने कुरै आउँदैन, तपाईँ नआत्तिनुस्,’ अडियो संवादमा उनले बोलेका छन् ।

यो संवादबाट उनीहरूले अधिकांश पैसा नगद नै बुझेको प्रस्ट पार्छ भने केही पैसा बैंकमार्फत् पनि लिएको तथ्य फेला परेको छ । प्राविधिक तर्फका उम्मेदवार दीपककुमार यादवसँग व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र यादवले एनएमबी बैंकमार्फत् १ लाख ५० हजार रुपैयाँ लिएका हुन् ।

दीपकका बुवा उपेन्द्र यादवको नाममा सिरहाको सखुवानन्कारकट्टीस्थित एनएमबी बैंकको शाखामा रहेको खाताबाट समिति अध्यक्ष यादवले २०८१ माघ २३ मा चेकमार्फत उक्त रकम बुझेको बैंक स्टेटमेन्ट कान्तिपुरले प्राप्त गरेको छ । पैसा लिए पनि उनको काम भने भएन ।

आफू राम्रो उम्मेदवार भएको र त्यसै पनि नाम निकाल्न सक्ने भन्दै आफूले पैसा नदिने बताए पनि नास्तापानीका लागि केही रकम दिनुपर्ने उनीहरूले कर गरेको दीपकले बताए । तर, डेढ लाख रकम प्राप्त गरिसकेपछि उनीहरूले थप ३ लाख रुपैयाँ मागेपछि आफूले नदिएको र त्यसैकारण आफू छनोटमा पर्न नसकेको उनले सुनाए ।

‘मैले एक सुको खर्च नगर्ने भनेको थिएँ, तर उनीहरूले नास्तापानीका लागि पनि दिनुपर्‍यो भनेर कर गरे, बुवाले १ लाख ५० हजारको चेक दिनुभयो,’ उनले कान्तिपुरसित भने, ‘उनीहरूले नगदै मागेका थिए, तर मैले पछि केही गडबड हुन्छ कि भन्ने लागेरै चेक नै दिन लगाएको थिएँ, पछि उनीहरूको डिमान्ड बढ्यो, मैले सकिनँ, मेरो नाम पनि आएन ।’

यसरी पैसा बुझाउने उम्मेदवारहरूलाई परीक्षा अगावै प्रश्न पत्र मात्र होइन, उत्तरसमेत उपलब्ध गराइएका प्रमाण भेटिएका छन् । शिक्षक, कर्मचारी छनोटका बेला प्रधानाध्यापक शर्मासँगै काम गरेका शिक्षक राम सुफल यादवले प्रश्नपत्र र उत्तरसमेत उम्मेदवारहरूको ह्वाट्सएपमा पठाएको स्क्रिनसट नै कान्तिपुरले फेला पारेको छ ।

विद्यालयका अनुसार प्राविधिक धारतर्फको परीक्षा पहिलोपल्ट २०८१ फागुन २६ गतेका दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन भएको थियो । तर, रामसुफलले परीक्षा हुनुभन्दा १४ घण्टा अगाडि नै मार्च १० अर्थात् फागुन २६ गते बिहान १ बजेर १३ मिनेटमा पैसा बुझाएका उम्मेदवारको ह्वाट्सएपमा प्रश्नपत्र र उत्तरसमेत चिन्ह लगाएर पठाएका छन् । प्रधानाध्यापक शर्माले पनि रामसुफललाई आफूले परीक्षाका बेला सहयोगका लागि राखेको स्वीकार गरे ।

‘हो, उहाँलाई मैले सँगै राखेको थिएँ, उहाँले मलाई सहयोग गर्नुभएको थियो,’ उनले भने, ‘तर, उहाँको खासै भूमिका थिएन ।’

तर, गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षा विकास तथा समन्वय इकाइ बीच रकम बाँडफाँडको विषयमा कुरा नमिलेपछि तथा पैसा बुझाएर पनि छनोटमा पर्न नसकेका केही उम्मेदवार रकम फिर्ता माग्न थालेपछि यसको रहस्य खुलेको हो । 

गाउँपालिकाकै एक कर्मचारीका अनुसार विद्यालयमा १२ जना शिक्षक कर्मचारी भर्ना गरिए पनि १५ जनासँग पैसा उठाइएको थियो । तर, अहिले फिर्ता गर्नुपर्ने अवस्था आएपछि एकातर्फ जनप्रतिनिधि, शिक्षक, कर्मचारी बीच नै द्वन्द्व देखिएको छ भने पैसा बुझाएर पनि छनोटमा पर्न नसकेका उम्मेदवारहरूसमेत त्यस बेलाका कुराकानीका विभिन्न अडियोलगायतका कुरा सामाजिक सञ्जालमा हालिरहेका छन् ।

यस विषयमा तत्कालीन प्रशासकीय अधिकृत यादवले आफू केही पनि नबोल्ने प्रतिक्रिया दिए । विद्यालयका प्रधानाध्यापक शर्माले भने यो विषय सत्य नभएको दाबी गरे । ‘कसले के गरे, म त्यसको जिम्मा लिन्न,’ उनले कान्तिपुरसित भने, ‘जति पनि कुरा आएका छन्, त्यो सत्य हो जस्तो लाग्दैन ।’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र यादव र सदस्य जीवछ यादव भने सम्पर्कमै आउन चाहेनन् । 

गाउँपालिका अध्यक्ष शिवउदगार यादवले भने यस विषयमा बाहिर हल्ला चले पनि औपचारिक रूपमा आफूकहाँ नआएको र आफूले पैसा उठाएको कुरा पनि गलत भएको दाबी गरेका छन् । ‘यस विषयमा मकहाँ औपचारिक रूपमा केही कुरा आएको छैन, मैले पैसा उठाएको कुरा पनि निराधार हुन्,’ उनले भने, ‘मकहाँ प्रमाणसहित उजुरी आयो भने हेर्छु ।’

विद्यालयले गत २०८१ असार १६ मै सूचना जारी गर्दै प्राविधिक धारतर्फ विभिन्न पदमा ९ जना शिक्षक, कर्मचारी माग गरेको थियो ।

माध्यमिक तहका लागि सिभिल इन्जिनियरिङ विषयका द्वितीय श्रेणीमा २ जना प्रशिक्षक, तृतीय श्रेणीमा २ जना प्रशिक्षक, निम्न माध्यमिक तहका लागि तृतीय श्रेणीमा २ जना सहायक प्रशिक्षक, माध्यमिक तहका लागि भौतिक शास्त्र विषयका द्वितीय श्रेणीमा १ जना शिक्षक, रसायनशास्त्रका द्वितीय श्रेणीमा १ जना शिक्षक र ल्याब सहयोगी १ जना गरी ९ जना शिक्षक कर्मचारी मागिएको थियो । तर, उम्मेदवारको आवेदन पर्दासमेत प्रक्रिया अगाडि नबढाएको यो विद्यालयले २०८१ चैत ५ मा फेरि तीन जना शिक्षक माग गर्दै अर्को सूचना निकाल्यो ।

विद्यालयले उच्च माध्यमिक तहका लागि अंग्रजी, नेपाली र लेखा विषयका एक/एक जना गरी तीन जना माग गरेको थियो । जसमा प्राविधिक धारतर्फ ९ पदका लागि सबै गरी १ सय ३१ जना र उच्च माध्यमिक तहका लागि १० जना गरी १ सय ४१ जनाले आवेदन दिएका थिए । उम्मेदवारहरूलाई प्रथम पत्र र दोस्रो पत्र गरी दुई वटा परीक्षा दिन लगाइएको थियो ।

विद्यालयका अनुसार प्राविधिक तर्फका उम्मेदवारसँग फागुन २६, २७ र चैत २ मा गरी तीन दिन परीक्षा लिइएको थियो भने उच्च माध्यमिकका लागि उम्मेदवारसँग चैत २९ मै दुवै पत्रको परीक्षा लिइएको थियो । यस्तै, १२ वटै पदको अन्तिम नतिजा भने वैशाख २६ मा सार्वजनिक गरिएको थियो ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully