घाइते विद्यार्थीको उपचार हुँदै, शिक्षक प्रहरी नियन्त्रणमा
सिरहा — सिरहामा एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । गोलबजार नगरपालिका-७ चोहर्वास्थित निजी विद्यालय एपेक्स विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेका हुन् ।
कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका-३ खोरियाका सुरेश यादवका १३ वर्षीय छोरा अभिनाश यादवलाई विद्यालयका शिक्षक सन्तोष गुप्ताले शुक्रबार कुटेका हुन् । कुटपिटका कारण उनको अनुहार, पिठ्युँ, तिघ्रालगायत शरीरका विभिन्न भागमा निलडाम छ ।
अविनाशको अहिले गोलबजारस्थित एक निजी अस्पतालमा उपचार चलिरहेको बुवा सुरेशले बताए । आफ्नो छोराले 'पढाइको गुणस्तर भएन' भनेर गुनासो गर्दा शिक्षक गुप्ताले रिसाउँदै निर्घात कुटेको उनको भनाइ छ ।
यता, पीडित परिवारको उजुरीका आधारमा शिक्षक गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुप्तालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले बताए ।
यस विषयमा बुझ्न विद्यालयका सञ्चालक विजय महतोलाई पटकपटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
