किशोरी सम्पर्कविहीन भएपछि दलित युवाका बुबामाथि प्रहरीको 'मानसिक यातना'

बिहान बोलाएर साँझ घर पठाउने गरेको प्रहरीले मंगलबार हिरासतमा राखेको पीडित परिवारको भनाइ

वैशाख १८, २०८२

कमलेश ठाकुर

'Mental torture' by police on Dalit youth's father after girl lost contact

जनकपुरधाम — धनुषामा किशोरी सम्पर्कविहीन भएपछि एक दलित परिवारलाई प्रहरीले नियमित मानसिक यातना दिइरहेको घटना बाहिर आएको छ । महोत्तरी भंगहा नगरपालिकाका जागेश्वर रामलाई धनुषा प्रहरीले हिरासतमा राखेर मानसिक यातना दिएको पीडिको भनाइ छ ।

जागेश्वरका २१ वर्षीय छोरा सन्तोष राम र धनुषा बटेश्वर गाउँपालिका-२ कचहरी टोलकी १७ वर्षीया किशोरी तीन साताअघि सम्पर्क विहीन भएका थिए । उनीहरूले अन्तरजातीय प्रेम विवाह गरेको समाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको छ । त्यसयता उनीहरु लुकीछिपी बसिरहेका छन् । परिवारको सम्पर्कमा छैनन् । तर, प्रहरीले बोलाएर धाकधम्की दिनुको साथै मंगलबार एक दिन हिरासतमा राखेर यातना दिएको जागेश्वरका भाइ रामबाबुले बताए । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा केटी पक्षले निवेदन दिएको छ । जसमा १७ वर्ष आठ महिना मात्रै पुगेकी किशीरीलाई ललाइफकाइ भगाएको हुनाले खोजी गरी संलग्नलाई कारबाही गर्न अनुरोध गरिएको छ । त्यसपछि प्रहरीले सुरुमा ५ दिन जागेश्वरलाई बोलाएर छोरालाई झिकाउन, नभए अपहरण मुद्दामा जेल पठाउने धम्की दिँदै आएको थियो । प्रहरीले बिहान बोलाएर साँझ घर पठाउने गरेको राम परिवारको भनाइ छ । तर, मंगलबार साँझ उनलाई घर नपठाएर जिल्ला प्रहरीको हिरासतमा राखिएको जागेश्वरले बताए । 

बुधबार छलफल भएर जागेश्वरलाई दिउँसो ३ बजे हिरासतमुक्त गरिएको थियो । तीन दिनभित्र हाजिर नगराए प्रहरीले सबैमाथि मुद्दा चलाउने भनेर धम्की दिएको जागेश्वरले  बताए । ‘तीन दिनमा दुवैलाई हाजिर गराउन भनेको छ,’ उनले भने । बाहिर यो विषयमा नबोल्न प्रहरीले दबाब दिएको उनी बताउँछन् । उनको परिवारले छलफल पछि थप कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक श्यामबाबु यादवलाई कुन मुद्दामा जागेश्वरलाई बोलाएर प्रहरीले अनुसन्धान गरिरहेको भनेर सोध्दा उनले जवाफ दिएनन् । तर, ५ दिनअघि बोलाएर सम्पर्कविहीन किशीरी सोधीखोजी गरेको स्वीकार गरे । प्रहरीलाई हरायो भनेर निवेदन आएको र सोही विषयमा सोधीखोजीमा सहयोग गर्न बोलाएको उनको भनाइ छ । ‘५ दिन सोधी खोजीमा सहयोग गर्न अनुरोध गर्‍यौं,’ उनले भने, ‘हिजो जिल्लामा पठायौं । बाँकी कुरा जिल्लामै सोध्नुन् । महिला सेलले मुद्दा हेरिरहेको छ ।’

महिला सेलकी प्रहरी निरीक्षक निकिता मिश्रले यस विषयमा अनभिज्ञ रहेको भन्दै पन्छिन खोजिन् । किशोरीसँग अन्तरजातीय प्रेम विवाहसम्बन्धी कुनै पनि छलफल नभएको र थप बुझ्नुपरे डिएसपीसँग कुरा गर्न उनले भनिन् । 

डीएसपी बरुणबहादुर सिंहले पनि जानकारी नभएको बताए । ‘त्यस्तो मुद्दा महिला सेलले हेर्छ,’ उनले भने, ‘त्यहाँबाट जानकारी लिनु न ।’

दलित अधिकारीकर्मी विनोद महरा दलितमाथि सधैं प्रताडना हुने गरेको बताउँछन् । ‘जो शक्तिमा छ, प्रहरी त्यसकै कुरा सुन्छ । उसकै कुरा सत्य मान्छ,’ उनले भने, ‘गरिब, दलितको कुरा कानुनसम्मत भए पनि प्रहरीले मान्दैन ।’ दलित भएकै कारण यस्ता धेरै घटनामा प्रहरीले धाकधम्कीका आधारमा दबाउने र छुटाउने गरेको उनले बतए ।  

अधिवक्ता रिन्कुकुमारी यादवले राजनीतिक दबाबमा प्रहरी पर्ने गरेको बताइन् । स्थानीय राजनीतिकर्मीको दबाब धेरै हुने गरेको र यस्तो ट्रेन्ड बढ्दै गएको उनको भनाइ छ । विभिन्न प्रकारका धाकधम्कीले दलित असुरक्षित रहेको उनी बताउँछिन् । ‘गैरदलित र दलितबीचको खाडल पुर्न प्रहरी मानवको मर्म र कानुनअनुसार काम गर्नुपर्छ,’ उनले भनिन्, ‘राजनीतिज्ञ पनि सचेत भई सही वकालत गर्नुपर्छ ।’ 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully