पर्सा — नेपाल-भारतबीच पारस्परिक कानुनी सहायता सन्धि अभावमा जिल्ला प्रशासन कार्यालय पर्सामा परेका दोहोरो नागरिकतासम्बन्धी १ सय ३७ मुद्दा तीन दशकदेखि अनिर्णीत छन् ।
भारतीय नागरिकहरुले नेपालको समेत नागरिकता लिएको सम्बन्धमा परेका उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले ती मुद्दालाई आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई मुद्दाका मिसिल हस्तान्तरण गरेकामा प्रहरीले पनि ती मुद्दामा आवश्यक अनुसन्धान गरी निष्कर्ष निकाल्न सकेको छैन ।
दुई देशबीच पारस्परिक कानुनी सहायता सन्धि नहुँदा आरोपित व्यक्तिहरु भारतीय हुन वा होइनन् तथा उनीहरुले दोहोरो नागरिकता लिएका छन् वा छैनन् भन्ने सम्बन्धमा नेपाल प्रहरीले भारतीय प्रहरीबाट औपचारिक रुपमा कुनै पनि सूचना वा जानकारी पाउन नसकेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्साल बताउँछन् । ‘हामीले कतिपय यस्ता मुद्दामा प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालय, कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई पत्राचार गरेका छौं,’ उनले भने, ‘तर भारतीय पक्षबाट औपचारिक रुपमा आरोपित भारतीय नागरिकबारे जानकारी आउँदैन ।’
यस्तो अवस्थामा आफूहरु लाचार हुने गरेको लम्साल बताउँछन् । ‘हामीले सिधै भारत गएर बुझ्ने कुरो भएन,’ उनले भने, ‘भारतीय सरकारी वेबसाइटहरुलाई हामीले आधिकारिक मान्न मिल्दैन ।’ यो मुद्दामा असीमित हदम्याद हुने भएकाले आरोपित व्यक्ति जहिले पनि कारबाहीको दायरामा आउन सक्ने उनले बताए । १ सय ३७ मुद्दामध्ये २०७७/०७८ मा मात्रै ६० वटा मुद्दा दर्ता भएको डीएसपी लम्साल बताउँछन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल यस्ता मुद्दामा भारतीय दूतावासलाई सोध्दा जवाफ नआउने गरेको बताउँछन् । ‘इन्टरनेटमा संवेदनशील कागजातका बारेमा जानकारी हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा अनुसन्धान कार्य जटिल हुन्छ, भारत सरकारले आरोपित व्यक्ति भारतीय हो वा होइन भनिदिए सहज हुन्छ ।’
भारतबाट आधिकारीक रुपमा जानकारी आइदिएको अवस्थामा आरोपित व्यक्तिले दोहोरो नागरिकता लिएको प्रमाणित भएर त्यस्तो नागरिकता बदर हुने र भारतीयलाई नागरिकता दिने अधिकृतलाई पनि कारबाहीको दायरामा ल्याइने प्रजिअ अर्याल बताउँछन् । यस्ता मुद्दामा जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक छानबिन गरी जिल्ला प्रहरी कार्यालयलाई नै मुद्दा पठाउने गरिएको उनले बताए । ‘अनुसन्धान प्रहरीले नै गर्ने भएकाले मुद्दाको मिसिल नै प्रहरीलाई जिम्मा लगाइन्छ,’ उनले भने, ‘नेपालीले दोहोरो नागरिकता लिएको पाइए जिल्लाबाटै बदर हुन्छ, तर भारतीयले नेपाली नागरिकता लिइएको पाइएको अवस्थामा केन्द्रले बदर गर्छ ।’
वीरगन्जमा मधेश आन्दोलनपछि नागरिकता वितरण गर्दा थुप्रै भारतीयले नागरिकता लिएको गुनासो जनस्तरबाट आउने गरेको छ । कतिपय यस्ता व्यक्तिउपर छरछिमेक तथा व्यक्तिगत रुपमा कुनै विवाद भएका व्यक्तिहरुले उजुरी दिने गरेका छन् । तर थुप्रै दोहोरो नागरिकता लिएकाहरु अझै कारबाहीको दायरामा आउन नसकेको जनगुनासोसमेत रहेको छ ।
