सिरहा — यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी नवराजपुर गाउँपालिका-३ जगतपुर दोनवारी टोलकी आनन्दी सदायको मृत्यु प्रकरणको मधेश प्रदेश प्रहरीले छानबिन थालेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका एसएसपी शान्तिराज कोइराला नेतृत्वको छानबिन टोलीले आइतबारदेखि घटनाको अनुसन्धान थालेको हो । कोइराला नेतृत्वको टोली आइतबार पीडितको घर गएर परिवारसँग सोधपुछ गरेको छ ।
यस्तै, उक्त घटनामा प्रहरीले बदमासी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रहरी कर्मचारीसँग पनि आवश्यक जवाफ लिने काम भएको कोइरालाले जानकारी दिए ।
आइतबार प्रारम्भिक चरणको काम मात्र भएको र थप कुरा विस्तारै खुल्ने उनको भनाइ छ । 'आज प्रारम्भिक चरणको काम भयो,' उनले कान्तिपुरसित भने, 'अनुसन्धान सुरु भएको छ, विस्तृत कुराहरू विस्तारै खुल्छन् ।'
२४ वर्षीया सदाय गत मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि पुस ९ मा उनीमाथि गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए ।
तर, सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पनि पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो । प्रहरीले सुनुवाइ नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाइ महिनापछि फागुन २५ मा बल्ल उनको जाहेरी दर्ता भएको थियो ।
तर, मुद्दा दर्ता भए पनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो । आरोपितहरु अझै पनि पक्राउ परेका छैनन् भने घटना मिलाउने काममा संलग्नलाई पनि प्रहरीले कानुनी दायरामा ल्याउन सकेको छैन ।
