वीरगन्जमा निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन 

वैशाख २, २०८२

शंकर आचार्य

Demonstration in Violation of Prohibition in Birganj

पर्सा — भेला, प्रदर्शन आदि हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरी मंगलबार साँझ वीरगन्जमा प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी कार्यालयअगाडि धर्नामा बस्न खोज्नेहरुलाई प्रहरीले लाठी चार्ज गरेपछि त्यहाँबाट तितरबितर भएकाहरुले वीरगन्जको घण्टाघर, आदर्शनगर चोक क्षेत्रमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् ।

साँझ करिब साढे ६ देखि साढे ७ बजेसम्म जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनकारी र नेपाल तथा सशस्त्र प्रहरी बीच घम्साघम्सी भएको थियो । 

प्रहरीले शनिबारको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई मंगलबार पक्राउ गरेपछि प्रहरी कारबाहीको विरोधमा युवाहरुको समूह जिल्ला प्रहरी कार्यालय अगाडि पुगेको थियो । पक्राउ परेकाहरुलाई नछोडेसम्म धर्ना दिने भन्दै उनीहरु धर्नामा बस्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । 

प्रहरी उपरीक्षक गौतम मिश्रले सर्वदलीय सर्वपक्षीय बैठकमा भएको पाँच बुँदे सहमतिअनुसार नै घटनामा दोषी पाइएका ४ जनालाई पक्राउ गरिएको बताए । शेष खुर्सेद, सलाउद्दिन मिया ठकुराई, बजेट सिंह र रवि सर्राफ गरी ४ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको उनले बताए । 

‘सीसीटीभी फुटेज लगायतका अन्य यथेष्ट प्रमाणबाट घटनामा प्रत्यक्ष संलग्न पाइएकालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सुरु गरेका हौं,’ उनले भने, ‘सहमतिअनुसार नै प्रहरीले कारबाही अघि बढाएको हो, अन्य संलग्नहरुको पनि खोजी भरहेको छ ।’

टायर बाली प्रदर्शन गरिरहेको क्रममा हालसम्म २ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय अगाडि भएको लाठी चार्जका क्रममा स्थानीय सञ्चारकर्मी वीरगन्ज टीभीका अनिल ओझा र एभिन्युज टेलिभिजनका अर्जुन गुप्ता घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully