बाढीले गण्डक नहर र यसका सहयोगी संरचनामा १० करोड बढीको क्षति

आश्विन २२, २०८१

शंकर आचार्य

Damage to Gandak Canal and its supporting structures is more than 10 crore due to flood

पर्सा — डेढ साताअघिको वर्षा र बाढीले गण्डक नहर र यसका सहयोगी संरचनामा गरी १० करोड रुपैयाँ बढीको क्षति पुर्‍याएको छ । पर्सा, बारा र रौतहट गरी ३  वटा जिल्लामा विभिन्न स्थानमा गरी नहरका संरचनामा ठूलो क्षति पुगेको हो । 

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जका इन्जिनियर एवं सूचना अधिकृत सुरेशप्रसाद साहका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा नहर र यसका संरचनामा क्षति पुगेको छ । पर्सामा गण्डक नहरको व्याकअपको रुपमा रहेको तिलाबे व्यारेजको संरचना क्षतिग्रस्त भएको छ । साथै उक्त व्यारेजसँगै रहेको पुल पनि क्षतिग्रस्त भएको छ । पर्सामा मात्रै करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

बारामा फेटा गाउँपालिकामा नहरको करिब साढे ३ सय मिटर लम्बाई डिल भास्सिएर नहर पुरिँदा करिब २ करोड बराबरको क्षति भएको छ । कलैया उपमहानगरपालिका–२२ बसतपुरमा पनि करिब १५ मिटर नहरको डिल भास्सिएर करिब ७५ लाख बराबरको क्षति भएको छ । बाराकै आदर्श कोतवाल गाउँपालिकामा नहरमा पानीको तीब्र प्रवाहले नहर गेट भत्किएको छ । बाराकै सिम्रौनगढ नगरपालिकाको गंगानगरमा करिब १५ मिटर नहरको उत्तरी डिल भास्सिएको छ । 

रौतहटको राजपुर गाउँपालिकाको कोपुवामा करिब ७५ मिटर लामो नहरको पक्की एप्रोच सडक बगेर नहरमा करिब ४० फिट खाल्डो भएको छ । ‘समग्रमा तीन वटै जिल्लामा गरी झण्डै १० करोड बराबरको क्षति भएको छ,’ उनले भने, ‘भत्किएका संरचना तत्कालै मर्मत सम्भार गर्न कार्यालयसग आफ्नो बजेट छैन । संघीय जलस्रोत तथा सिँचाइ विभागले बजेटको व्यवस्थापन गर्नु पर्ने अवस्था छ ।’ 

 आउँदो गहुँ बाली सिजनमा नहरमा पानी प्रवाह गर्न हाल भत्किएका नहरका मुख्य र सहायक संरचनाहरुको मर्मत सम्भार तथा व्यवस्थापन नगरी सम्भव नरहेको साह बताउँछन् । ‘समय अत्यन्त कम छ, तत्कालै बजेट निकासा गरी नहरको मर्मत सम्भार र व्यवस्थापन गरिएन भने हिउँदमा ३ वटै जिल्लाका किसानले गण्डक नहरबाट गहुँ बाली सिञ्चित गर्न सक्दैनन्,’ उनले भने, ‘यसले गहुँ बालीको उत्पादननै घट्न सक्छ ।’ 

Damage to Gandak Canal and its supporting structures is more than 10 crore due to flood

नवलपरासीस्थित नेपाल भारत सीमामा निर्मित गण्डक व्यारेजबाट यो नहरमा पानी आउने गर्छ । उक्त व्यारेजबाट दोन, त्रिवेणी र तिरहुत गरी ३ वटा नहर निस्किएका छन् । दोन नहर भारतमै ९२ किमी यात्रा गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ । नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरको नामले चिनिन्छ ।  पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपाल तर्फ ८१ किमी रहेको छ ।  

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा,बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भएपनि रौतहटमा लक्षित सिँचाइ सुविधा नहरले दिन सकेको छैन । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully