अंग्रेजी माध्यम र प्राविधिक पढाइले सामुदायिक विद्यालयको साख फर्किंदै

आश्विन ५, २०८१

सन्तोष सिंह

English medium and technical education is restoring the reputation of public schools

धनुषा — महोत्तरीको गौशालाका केही सामुदायिक विद्यालय निजीभन्दा अब्बल साबित भएका छन् । शिक्षक र अभिभावकको हातेमालोसँगै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै उनीहरूले आफूलाई अब्बल साबित गरेका हुन् । अहिले त निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा भर्ना भई अध्ययन गर्न थालेका छन् ।

राजनीतिक खिचातानीले खस्केको विद्यालयको साख शिक्षक र अभिभावक मिलेर फर्काएका हुन् । विद्यालयमा शिक्षक अभावको समस्या समाधान गर्न अभिभावकले चन्दा दिएर निजी स्रोतका शिक्षक भर्ना गरी सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सम्भव तुल्याएका छन् । 

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, अंग्रेजी माध्यमबाट पठन/पाठन र स्मार्ट कक्षाले सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित हुन थालेका छन् । गौशालाको त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ८ भन्दा माथिका विद्यार्थीका लागि स्मार्ट कक्षा संचालन गरेका छन् । विद्यालयस्तरमा सिभिलको पढाइ हुन थालेपछि यहाँ विद्यार्थीका लागि प्रयोगशाला र पुस्तकालयसमेत राखिएको प्रधानाध्यापक (प्रअ) विनोद महतोले बताए । प्राविधिक पढाइ हुन थालेपछि राम्रो शिक्षको टिमले पढाइमा पहिले भन्दा सुधार हुँदा विद्यार्थीको चाप पनि बढेको छ । विद्यार्थी बढी हुँदा कक्षा ८ सम्म दिउँसो र ८ कक्षा भन्दा माथि १२ कक्षासम्मको पढाइ बिहानी सत्रमा गर्नु परेको महतोले बताए । English medium and technical education is restoring the reputation of public schools

गौशाला–११ स्थित जनता माध्यमिक विद्यालय भरतपुरखोर कक्षा १० मा अध्ययनरत प्रीति यादव नजिकै रहेको ज्ञानमन्दिर बोर्डिङ स्कुलमा अंग्रेजी माध्यममा कोचिङ पढेर जनता माध्यमिक विद्यालय भरतपुरखोरमा परीक्षा दिन्थे । तर, अहिले उनी कोचिङ पढ्न बाहिर जाँदैनन् । विद्यालयकै कक्षाको पढाइले सन्तुष्ट भएको यादवले बताइन् । उनीसँगै पूजा महतो पनि बोर्डिङ स्कुल छाडेर कक्षा ९ मा सामुदायिक विद्यालयमा भर्ना भएकी छन् । अहिले उनीहरू सामुदायिक विद्यालयको पढाइमा रमाइरहेका छन् ।

गौशालास्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीको संख्या बढेको छ । बालविकासदेखि १२ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि विद्यार्थी संख्या वृद्धि भएको प्रधानाध्यापक विपिनकुमार जोशीले बताए । ‘अभिभावकले आफ्ना छोराछोरीलाई अंग्रेजी माध्यमबाट पढाउन चाहने तर सामुदायिक विद्यालयमा नेपाली माध्यमबाट पढाइ हुने भएकाले निजी विद्यालयमा भर्ना गराउनु परेको बाध्यता सुनाएपछि हामीले पनि अंग्रेजी माध्यबाट पढाइ सुरु गरेका हौं,’ उनले भने । English medium and technical education is restoring the reputation of public schools

विद्यार्थीलाई पढाइभन्दा पनि पढ्ने बानीको विकास गर्दै अरुसँग तुलना गर्नुभन्दा आजको समीक्षा गरी भोलि राम्रो गर्ने शिक्षकहरूको सोचले विद्यालयमा परिवर्तन सम्भव भएको प्रअ जोशीले बताए । ‘विद्यालयमा पहिला विद्यार्थी संख्या न्यून रहेको, नियमित नरहेको, विद्यालयमा अनुशासन नहुँदा विद्यार्थी विद्यालय समयमै कक्षा छाडेर भाग्ने गर्थे,’ उनले भने, ‘कतिपय विद्यार्थी कुलतमा फसेर विद्यालय परिसरमै अवाञ्छित क्रियाकलाप समेत गर्दै आएका थिए । अहिले त सबै कुरामा सुधार आएर यस क्षेत्रकै नमुना विद्यालय बनेको छ ।’ 

निजी विद्यालयमा भर्ना भएका बालबालिका यस विद्यालयमा आउन थालेकाले विद्यार्थीको चाप निकै बढी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण महतोले बताए । कक्षाकोठाको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि थप भर्ना बन्द गर्नुपरेको महतोले बताए । 

गौशाला नगरपालिका–११ मा रहेका आधारभूत र माविमध्ये जनता माध्यमिक विद्यालय भरतपुरखोरलाई जिल्लाकै नमुना विद्यालय बनाउने प्रयास भइरहेको वडाध्यक्ष रामपृत महतोले बताए । ‘वडाको विकास शिक्षाले नै हुने मेरो बुझाइ छ,’ उनले भने, ‘शिक्षा हाम्रो प्राथमिकतामा छ । दरबन्दीका शिक्षक पर्याप्त नहुँदा निजी स्रोतका शिक्षक राखेर विद्यालय तहको शिक्षामा सुधार ल्याउने प्रयास गरेका छौं ।’ वडामा रहेका ६ वटै विद्यालयको पढाइमा सुधार आएकै कारण निजी विद्यालय छोडेर विद्यार्थीहरू सामुदायिक विद्यालयमा भर्ना हुन थालेको उनले बताए ।English medium and technical education is restoring the reputation of public schools

जनता माविमा २६ वटा कक्षा सञ्चालन गर्न १७ जना शिक्षकको दरबन्दी भए पनि विद्यार्थीको चाप बढेपछि र अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न निजी स्रोतबाट अहिले थप ९ जना शिक्षक बहाली गरी २६ जना शिक्षकबाट पठनपाठन सञ्चालन गरिएको महतोले बताए । निजी स्रोतबाट भर्ना गरिएका शिक्षकको तलव विद्यार्थीले दिएको चन्दाबाट व्यवस्थापन गरिएको छ । अभिभावक भेलाले अंग्रेजी माध्यमको पढाइका लागि कक्षाअनुसार विद्यार्थीबाट आर्थिक सहयोग लिने निर्णय गरेको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully