१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकारी अस्पताल भरिभराउ, निजी महँगो

आईसीयूमा राखेको दैनिक २५ देखि ४० हजार रूपैयाँसम्म शुल्क
श्यामसुन्दर शशि

जनकपुर — सास फेर्न समस्या भएपछि वैशाख २० गते साँझ ४५ वर्षीय लोकबहादुर परियारलाई एम्बुलेन्समा जनकपुर प्रादेशिक अस्पताल ल्याइयो । त्यहाँ बेड खाली नभएपछि नजिकैको एक निजी नर्सिङ होममा लगियो ।

सरकारी अस्पताल भरिभराउ, निजी महँगो

परियारलाई भर्ना गर्नुअघि नै ५० हजार रुपैयाँ धरौटी मागियो । परिवारका सदस्यसँग त्यति पैसा थिएन । त्यसैले उनको ससुराली गाउँ धनुषाको बटेश्वर फर्काइयो । रातभरि छटपटिएर अर्को बिहान उनको मृत्यु भयो ।

प्रादेशिक अस्पतालमा बेड खाली नहुने अनि बाध्यताले निजीमा भर्ना हुनेसँग अस्पताल सञ्चालकहरूले चर्को शुल्क लिने गरेको गुनासो जनकपुरमा व्यापक छ । संक्रमितका आफन्तहरूले निजी अस्पतालका आईसीयूमा राखिएका संक्रमितसँग दैनिक २५ देखि ४० हजार रुपैयाँसम्म शुल्क लिएको पाइएको छ । जनकपुरको जानकी हेल्थ केयरमा आफ्नो आमाको उपचार गराएका एक व्यवसायीका अनुसार बिरामी भर्नाअघि ५० हजार धरौटी लिइएको थियो ।

भर्ना शुल्क ७ सय, दैनिक बेड शुल्क ४ हजार ५ सय, विज्ञ चिकित्सकको प्रतिराउन्ड १ हजार, मेडिकेसन शुल्क ५ हजार र अन्य सर्भिस शुल्क भनेर ६ हजार ९ सय ५१ रुपैयाँको बिल ती व्यवसायीलाई थमाइयो ।

अक्सिजनबाहेक उनले दिनको २१ हजार १ सय ५१ रुपैयाँ तिरे । जबकि उनको आमालाई आईसीयूमा राख्नुपरेको थिएन । आईसीयूमा राख्नु परेको भए अक्सिजन शुल्क ८ देखि १० हजार तथा अन्य शुल्क गरी उनले दैनिक ३१ हजारभन्दा बढी तथा भेन्टिलेटरमा राख्नु परेको भए ४० देखि ४५ हजार रुपैयाँ तिर्नुपर्थ्यो । कोभिडको उपचार गर्ने जनकपुरको काव्या अस्पतालले भने भेन्टिलेटरसहित दैनिक ३५ हजारको प्याकेज भनेर शुल्क लिन्छ । जानकी हेल्थ केयरका सञ्चालक सञ्जयकुमार यादवले आफूहरू निर्धारित दरभन्दा बढी शुल्क नलिएको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारीसँगको छलफलपछि निर्धारण गरिएको दरमै उपचार गरिरहेको उनले बताए । प्रादेशिक अस्पतालमा बेड संख्या न्यून भएको र त्यतिबेलासम्म जानकी मेडिकल कलेजको कोरोना अस्पताल सञ्चालनमा नआइसकेकाले संक्रमितलाई उपचार गराउन समस्या परेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले निजी अस्पताललाई उपचारमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रजिअको आग्रहपछि जनकपुरको काव्या, जानकी हेल्थ केयर, रामजानकी हस्पिटल, धनुषा अस्पताल, जनकपुर सिटी हस्पीटल, चन्द्रकला हस्पिटल, केयर मेडिकल, मिथिला हस्पिटल, गोदावरी हस्पिटल, नवजीवन हस्पिटल, जनक मेमोरियल, नैना हस्पिटल, जनकपुर गोल्डेन हस्पिटल, बैदेही हस्पिटल तथा जनकपुर राजधानी अस्पताललगायतले संक्रमितको उपचार सुरु गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाले पीसीआरको २ हजार तथा संक्रमितको औषधिबाहेक दैनिक सामान्यलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार ५ सय र जटिललाई १५ हजार ५ सय ४ रुपैयाँभन्दा नबढ्ने गरी शुल्क तोकेको छ । प्रजिअ बाँस्तोलाले जिल्लाका निजी अस्पतालको हकमा छुट्टै शुल्क निर्धारण नगरिएको जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?