लामो रस्साकस्सीपछि धरानको बजेट सिलिङ कार्यपालिकाबाट पारित, नगरसभा आगामी बिहीबार

शुक्रबार बसेको कार्यपालिका बैठकले पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन गर्ने र नगर सभा भदौ २६ गते गर्ने निर्णय गरेको हो।

भाद्र २१, २०८२

एलिना राई

After a long tug-of-war, Dharan's budget ceiling was passed by the Executive, Municipal Assembly next Thursday

What you should know

धरान — लामो रस्साकस्सीपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट सिलिङ संशोधनसहित पारित गरेको छ।

शुक्रबार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको बजेटबाट चालु खर्च बाहेक पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन गर्ने र नगर सभा भदौ २६ गते गर्ने निर्णय पनि गरेको छ । बैठकले नगर सभा दिउँसो १ बजे धरान उपमहानगरपालिका परिसरमा गर्ने निर्णय गरेको हो ।

बैठकमा मेयर हर्क साम्पाङले सिलिङ पास गर्न १५ वटा एजेन्डा प्रस्तुत गरेका थिए । बैठकमा एमालेका तर्फबाट कार्यपालिका सदस्य सावित्री परियारले बजेट १० प्रतिशत घटाउने संशोधन प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई कार्यपालिका बैठकले सहमति जनाउँदै सर्वसम्मतरुपमा पारित गरेको हो ।

यसअघि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ एमालेको असहमतिबीच बहुमतले पारित गरेको थियो । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरूले घाटाको बजेट बनाउनु हुदैन् भन्दै बजेट घटाउनु पर्ने माग गरेका थिए । अब उक्त बजेटमा पुँजीगततर्फ १० प्रतिशत घटेर बजेट सिलिङ कायम हुने भएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरूले यसअघि मेयर कोष, उपमेयर कोष , मेयर भिजन , उपमेयर भिजन , कार्यपालिका कोष जस्ता अवण्डा कोषहरू खारेज गर्नु पर्ने माग्दै कार्यपालिका पटक-पटक बैठक बहिष्कार गरेका थिए ।

उनीहरूको मागको सुनवाइ गर्दै बैठकमा मेयर र उपमेयर भिजन भनेर विनियोजन गरिएको योजनाहरूको नाम परिवर्तन गरेर नगर भिजन राख्ने निर्णय भएको छ । उक्त भिजनमा १५ लाख योजना राख्ने निर्णय भएको छ ।

बैठकमा मेयर साम्पाङले मेयर र उपमेयर भिजनको नाम परिवर्तन गरेर नगर भिजन राख्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा भने उपमेयर अइन्द्रबिक्रम बेघाले आपत्ति जनाएका थिए । उनले मेयर र उपमेयर भिजनको बजेट ब्रेक डाउन एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले माग गरे बमोजिम नै ब्रेक डाउन गरेर दिए पनि नाम परिवर्तन गरेकोमा असहमति जनाएका थिए ।

लामो छलफल पछि कार्यपालिका बैठकले संशोधनसहित नीति तथा कार्यक्रम पास गर्ने निर्णय पनि गरेको छ । नीति तथा कार्यक्रममा यसअघि नेकपा एमालेले दिएका बुँदागत सुझावहरूलाई समेटेर अर्को कार्यपालिका बैठकमा संशोधनसहित पारित गर्ने निर्णय भएको छ ।

त्यस्तै, पालिका गानको लागि छनौट भएको गीतमा भने विवाद भएको छ । उपमहानगरपालिकाले आह्वान गरेबमोजिम टिका आत्रेयको सिर्जना पालिका गानको लागि छनौट भएको थियो । उक्त सिर्जनामा स्रष्टाले श्रमिक भन्ने शब्द उल्लेख गरे पनि मेयर साम्पाङले भने उक्त शब्दलाई परिवर्तन गर्दै श्रमदाता बनाएर गीत रेकर्ड गराएका थिए ।

उक्त शब्द परिवर्तन भएकोमा लेखिकाले असन्तुष्टि जनाएको र स्रष्टाको शब्द परिवर्तन गर्ने अधिकार स्वयम स्रष्टालाई मात्र हुने भएको भन्दै उपमेयर बेघा र वडाध्यक्षहरुले एजेन्डा स्थगित गर्न आग्रह गरेका थिए । उनले स्रष्टासँग सहमति जुटाएर मात्र पालिका गान सम्बन्धी एजेन्डा पारित गर्ने अडान राखेका थिए ।

मेयर साम्पाङले स्रष्टासँग कुरा गर्ने भन्दै एजेन्डा स्थगित गरेका थिए । उनले यो विषयमा अर्को बैठकमा छलफल हुने भन्दै कार्यपालिका बैठक टुङ्गाएका थिए । अर्को कार्यपालिका बैठक भदौ २२ गते (आइतबार) बस्ने निर्णय पनि बैठकले गरेको छ ।

उक्त बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकनबारे, बसपार्क सञ्चालनबारेको प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का, दररेट लगायतका बाँकी रहेका एजेन्डाहरूबारे पुनः छलफल हुने जनाइएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully