उदयपुरमा स्कोर्पियो दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते

वैशाख १८, २०८२

राकेश नेपाली

Scorpio accident in Udaipur: 1 dead, 6 injured

उदयपुर — मदन भण्डारी लोकमार्गअर्न्तगत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा स्कोर्पियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार दिउँसो ४ बजे चितवनबाट झापा जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कोर्पियो अनियन्त्रित भई सडक छेउको फलामको ट्रस्ट बेरिएरमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा दमक नगरपालिका–३ झापाका ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउन साथ अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दियो ।

दुर्घटनामा सवारीचालक दमक–९ झापाका ३८ वर्षीय देवेन्द्र तामाङ, दमक–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी, दमक–१ का ४५ वर्षिय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । 

घाइतेहरुको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ । दुर्घटना हुनासाथ ईलाका प्रहरी कार्यालयबाट डीएसपी कमल बजगाईको नेतृत्वमा खटिएको टोलीले घाइतेहरुको उद्धार गरी अस्पताल पुर्‍याएको थियो । तीव्रगतिमा रहेको स्कोर्पियो मोडमा अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully