एमाले मोरङमा देखिएको अदलबदलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको संकेत पनि गरेको छ ।
विराटनगर — २३ फागुनमा विराटनगरमा सम्पन्न मोरङ एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका अजम्वर राई नेतृत्वको प्यानल विजयी भएको थियो । त्यस्तै शुक्रबार सम्पन्न विराटनगर महानगर कमिटीको निर्वाचनमा पनि ओलीइतर पक्षले नै पुनः ‘क्लिनस्विप’ गर्यो ।
महानगरको दोस्रो अधिवेशनबाट बलराम गिरी अध्यक्षमा निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी, ओली नेतृत्वको संस्थापन पक्षका रोहित कोइरालालाई ५२ मतले पराजित गरे । यी दुई चुनावी प्रक्रियाले एमाले मोरङमा ओली समूहको पकड खुम्चिँदै गएको र विनोद ढकाल नेतृत्वको समूहको प्रभाव विस्तार हुँदै गएको देखिएको छ । ढकाल एमालेका पुराना नेता हुन् । उनी पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेताका रूपमा समेत चिनिन्छन् ।
एमाले मोरङमा देखिएको यो अदलबदलले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनको संकेत पनि गरेको छ । गत माघ दोस्रो साता पूर्वराष्ट्रपति भण्डारीको पूर्वको ‘अचानक’ भ्रमण राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको थियो ।
मोरङ जिल्ला अधिवेशन नजिकिँदै गर्दा भएको उक्त भ्रमणमा भण्डारी प्रमुख रूपमा मोरङमै केन्द्रित थिइन् । उनले वडा, नगरदेखि जिल्ला तहसम्मका एमाले र पूर्वएमालेका नेता-कार्यकर्तासँग भेटघाट गरिन् । त्यो भेटघाटमा विनोद ढकालसहितका धेरै प्रभावशाली नेता, प्राध्यापक कृष्ण पोखरेलजस्ता बौद्धिक व्यक्तित्वसमेत सहभागी थिए । त्यो भ्रमण र पछिल्लो एमालेको चुनावी नतिजालगायतका केही परिघटनालाई नियाल्दा उनी पुन: राजनीतिमा सक्रिय हुन सक्ने अनुमानलाई बल पुर्याएको छ ।
भण्डारीले त्यसैबेला विराटनगरका पत्रकारहरूसँग राजनीतिमा पुनः फर्किने संकेत दिएकी थिइन् । उनको सम्भावित राजनीतिक पुनरागमनको विषयमा अहिले पनि आलोचना र चर्चा व्यापक रूपमा चलिरहेको छ ।
विनोद ढकाल एक समय अध्यक्ष केपी शर्मा ओलीकै विश्वासपात्र थिए । पूर्वी नेपालमा माधव नेपालको बढ्दो प्रभावलाई कम गर्न र ओली प्रभाव वढाउन ढकाल सक्रिय थिए तर, परिस्थितिको घुम्तीले ढकाललाई ओली समूहको प्रभावशाली विरोधीका रूपमा उभ्याएको छ ।
२०८० असोजमा सम्पन्न प्रदेश अधिवेशनबाट ढकाल ओलीसँग चिढिएका हुन् । अधिवेशनमा ढकालको दाबी प्रदेश अध्यक्षको थियो । तर, ओली पक्षका वरिष्ठ नेताहरू गुरु बराल, शेरधन राई, भानुभक्त ढकाल र हिक्मत कार्कीलगायतले ढकाललाई पन्छाउँदै माधव नेपालनिकट रहेका घनश्याम खतिवडालाई अघि सारे ।
त्यसपछि ढकाललाई के चाहियो ? एमालेभित्र असन्तुष्टिको विजारोपण नै त्यही बन्यो । २०७४ सालमा शेरधन राई प्रदेश १ का मुख्यमन्त्री बने । प्रारम्भमा एउटै समूहमा रहेका ढकालको सम्वन्ध बराल, राई तथा कार्कीसँग क्रमशः बिग्रँदै गयो । अन्ततः जब प्रदेश नेतृत्वको दौडमा उनकै पूर्व सहकर्मीहरू खतिवडाको पक्षमा उभिए । त्यसलाई ओलीले समेत अनुमोदन गरेपछि भने ढकालको मन कुँडियो ।
‘जीवनभर ओलीको अघिपछि दौडिएका ढकाललाई प्रदेश अधिवेशनमा ओलीले नै नपत्याएपछि उनी रिसाएका हुन सक्छन्’, एमाले मोरङका एक नेताले भने,‘आफ्नालाई छाडेर अर्कालाई काखी च्याप्दा रिस उठ्नु स्वाभाविक पनि हो ।’
प्रदेश अधिवेशनमा बेहोरेको पराजयपछि ढकाल ओली समूहसँग एक्लै भिड्न थाले । उनको यो संघर्ष विराटनगर महानगरको अधिवेशनसम्म आइपुग्दा स्पष्ट देखिएको छ । उनीनिकट एक नेताले भने,‘ओलीसँगको त्यो ‘इगो’ अहिले मोरङ एमालेका विभिन्न चुनावी परिणाममा प्रतिविम्बित भइरहेको छ ।’
ढकाल अहिले सशक्त विपक्षी धारको नेतृत्व गरिरहेका छन् । उनको राजनीतिक यात्रा, पूर्व ओलीपन्थी भएर पनि संस्थापनसँग टक्कर दिन सक्ने साहस र पछिल्लो सफलताले उनलाई मोरङको मात्र होइन, समग्र एमाले राजनीतिभित्रको एक महत्त्वपूर्ण पात्रका रूपमा उभ्याइरहेको छ ।
ढकाल सार्वजनिक रूपमा आफूलाई अझै पनि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूहकै सदस्य बताउँछन्। तर पछिल्लो समयका उनका गतिविधिहरूले उनको ‘अलग लाइन’ प्रस्ट संकेत गरेको छ । ३ वैशाखमा महानगर कमिटीको दोस्रो अधिवेशनका उद्घाटन समारोहमै गुटगत द्धन्द्ध सतहमा देखिएको थियो ।
‘मञ्चमा बोल्न नदिइएको’ भन्दै ढकाल कार्यक्रमस्थल छाड्न खोजेका थिए । उनले ओलीपक्षका महानगर इन्चार्ज पर्शुराम बस्नेतले आफूलाई ‘मानमर्दन’ गरिएको आरोप लगाएका थिए । बस्नेतले ‘अवैधानिक समूहका प्रतिनिधिलाई बोल्न दिइन्न’ भनी आफूलाई दुर्व्यवहार गरेको दाबी ढकाल समूहको थियो ।
