कोशी प्रदेशमा पहिलो पटक लगानी सम्मेलन हुँदै

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

First investment conference in Koshi region

विराटनगर — कोशी प्रदेश सरकारले पहिलो पटक वैशाख १८ देखि १९ गतेसम्म लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।पूर्वनिर्धारित समय अनुसार माघ ११– १३ का लागि सम्मेलन निश्चित भए पनि तयारीको समय अभाव भएको भन्दै सम्मेलनको मिति सारिएको हो ।  

प्रदेश सरकारले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत लगानी सम्मेलनको तयारी तीव्र पारिएको जनाएको छ । 

सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँका १४ परियोजनाहरू प्रस्तुत गरिने सम्मेलन सचिवालयका संयोजक प्रदेश सचिव पवनकुमार तिमिल्सिनाले जानकारी दिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी तीव्र पारिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने योजना रहेको जनाए । ‘यो सरकारको मात्रै हैन, कोशी प्रदेशकै सम्मेलन हो’, उनले भने, ‘प्रदेशको पुँजी निर्माणकै लागि सम्मेलन गर्न लागिएको हो ।’  

सम्मेलनमा प्रस्तुत हुने ५४ परियोजनामध्ये कृषि र पर्यटन क्षेत्रका परियोजनाहरू बढी संख्यामा छन् । प्रदेश सरकारले निजी, एनआरएन र विदेशी लगानी भित्र्याउने प्रयत्न जारी राखेको मुख्यमन्त्री कार्कीले जनाए । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लगानीकर्ताहरूलाई सहज वातावरण बनाउन विभिन्न कानुनी प्रावधानहरूमा संशोधन गर्न लागिएको जनाए । मापदण्ड बमोजिम अनुदान दिन सक्ने गरी ऐन संशोधनको तयारी भइरहेको र लगानी प्राधिकरण ऐनमा पनि आवश्यक परिमार्जन गर्न लागिएको उनले जनाए । 

त्यसैगरी, भू–उपयोग ऐनमार्फत नदी उकासको जमिन लिजमा दिन सकिने व्यवस्था समेत गर्न लागिएको जनाए । ‘एकद्वार प्रणालीमार्फत अघि बढी रहेका छौ, कानुनी र नीतिगत झन्झटलाई समाधान गर्दै अघि बढ्ने योजना छ’, मन्त्री भण्डारीले थपे ।

डा. सरोज कोइराला सम्मेलनको प्रमुख कार्यकारी रहेको सचिवालयले सम्मेलनका लागि सवा सय परियोजनाहरू हातमा रहेको दाबी गरेको छ । तर, कार्यान्वयन हुन सक्ने परियोजनालाई मात्रै प्राथमिकतामा राखिएको सचिवालयले जनाएको छ । 

कान्तिपुर

Link copied successfully