खोटाङ — ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’को अवसरमा आयोजित सांस्कृतिक पर्यटन तथा कृषि मेला समापन भएको छ ।
किरात यले दोङ (किरात सम्वत्) ५०८५ को अवसर पारेर मंगलबार चखेवामा सुरु मेला शनिबार समापन भएको हो । मेला संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए । भ्रमण वर्षको सुरुवातीमा टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा चखेवामा आयोजना गरिएको थियो । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा कृषिजन्य उत्पादन प्रदर्शन गरिएको थियो ।
मेलाअन्तर्गत मंगलबार उद्घाटन समारोह, बुधबार कविता प्रतियोगिताको साथमा कलाकार ज्वाला राईको प्रस्तुति, बिहीबार साकेला सिली प्रतियोगिताको साथमा कलाकार भीषण मुकारुङको प्रस्तुति, शुक्रबार धनुषवाण (आर्चरी) प्रतियोगिताको साथमा हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति र शनिबार शिव परियारको प्रस्तुति थियो ।
किरात समुदायको सघन बसोबास रहेको खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्ब लगायतका विभिन्न जिल्लाहरूलाई समेटेर ८ वर्षअघि सुरु गरिएको मुन्दुम ट्रेल अहिले सप्तकोसीको कोसी टप्पुदेखि सगरमाथा (चोमालुङ्मा)सम्म विभिन्न तीन खण्डमा विभाजन गरी ग्रेटर मुन्दुम ट्रेलको रूपमा विस्तार गरिएको राईले जनाएका छन् । भ्रमण गर्न चाहनेहरूले कोसी टप्पुदेखि विभिन्न ठाउँबाट सुरु गर्न सकिने राईले बताए । पाँचदेखि १५ दिनसम्मको प्याकेजमा मुन्दुम ट्रेल भ्रमण गर्न सकिने राईको भनाइ छ ।
मुन्दुम ट्रेल भर्जिन र १० देखि ८० वर्षसम्मकाले सहज यात्रा गर्न सक्ने भएकाले पर्यटकका लागि रोजाइमा पर्ने राईले बताए । ‘मुन्दुम ट्रेल भर्जिन र एकदमै सहज यात्रा गर्न सकिन्छ,’ राईले भने–‘१० वर्षदेखि ८० वर्षसम्मकाले सहज यात्रा गर्न सकिन्छ, कतै खोलानाला, पहिरोको जोखिम छैन ।’
भ्रमण वर्षमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको ट्रेल भ्रमण वर्ष २०२५ का आयोजकमध्येका रमेश राईले बताए । भ्रमण वर्षको अवधिमा सिजनअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गरिएको राईले जनाए । उनका अनुसार भ्रमण वर्षमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस तथा घोडचढी एवं फिल्म सुटिङ महोत्सव वैशाखमा, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव वैशाखमा र फागुन १५, १६ र १७ गते राष्ट्रिय बाँस सम्मेलन, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने राईले सुनाए ।
त्यस्तै भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकाले आगामी कात्तिकमा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गरिने राईले सुनाए ।
यसबाहेक हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाले सप्तकोसीदेखि महाकुलुङसम्मको अल्ट्राम्याराथुनको आयोजना गर्ने राईले बताए ।
