खोटाङ — दिक्तेल बजारस्थित प्यारागण बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गरेका छन् । बचत अवधि सकिएपछि बचत रकम माग्न जाँदा नपाएको उनीहरूले गुनासो गरेका हुन् ।
दिक्तेल बजारमा विभिन्न पेसा व्यवसाय गरेर बस्नेहरूले जम्मा गरेबापतको रकम फिर्ता नगरेको पीडितहरूले बताएका छन् । दिक्तेलको संगम टोलका मेडिकल सञ्चालक कुमार उपरकोटी, दिक्तेलको सल्लेरीटोलका डेन्टल क्लिनिक सञ्चालक महेश फुयाल, त्रिवेणीचोकमा कपडा पसल सञ्चालक सविता आचार्य र त्रिवेणीचोकका होटल व्यवसायी युवराज कटवालले आफूहरूको बचत रकम डुबेको गुनासो गरेका छन् ।
त्यस्तै दिक्तेल रत्नपार्कमा कपडा पसल संचालक रमेश बस्नेत, दिक्तेल किरात चोकस्थित खोटाङ यातायात प्रालिको काउन्टरमा कार्यरत अमीर अधिकारी, बेसक्याम्पका नेत्र कटवाल लगायतले पनि बचत गरेको रकम फिर्ता नपाएको बताए । बचतकर्ताले जम्मा गरेको पासबुकसमेत बचत फिर्ता गर्ने भनी सहकारीले लगेको तर बचत र पासबुक फिर्ता नगरी कार्यालय नै बन्द गरेको बचतकर्ताहरूले बताएका छन् ।
सहकारीका सञ्चालकलाई बचत माग्दा छिट्टै दिन्छौं भन्ने गरेको तर एक वर्ष बितिसक्दा पनि फिर्ता नगरेको बचतकर्ता अधिकारीले बताए । ‘धेरै चोटि धाइयो, आज हुन्छ, भोलि हुन्छ भन्नुहुन्छ,’ उनले भने, ‘तर पैसाचाहिँ पाइएको छैन ।’
दिक्तेल बेस क्याम्पका होटल व्यवसायी नेत्र कटवालले श्रीमती यशोदा बस्नेत, छोरी नमिता कटवाल र आफ्ना नामबाट जम्मा गरेको बचत नपाएको गुनासो गरे । बचत रकम फिर्ता गर्ने भनेर सहकारीका कर्मचारीले पासबुकसमेत लगेको तर बचत न पासबुक पारेको कटवालले बताए । ‘बचत फिर्ता गर्ने भनेर सहकारीका कर्मचारी गोपाल आचार्यले पासबुक मागेर लग्नुभो,’ उनले भने, ‘न बचत फिर्ता भयो, न पासबुक नै ।’
उक्त सहकारीको कार्यालय कटवालकै घरमा थियो । कार्यालय राखेको भाडासमेत नपाएको कटवालले बताए । फणिन्द्रकुमार राईको नामबाट २ लाख ३७ हजार रुपैयाँको चेक दिए पनि खातामा रकम नभएपछि चेक बाउन्स गरेर प्रहरीमा निवेदन दिएको कटवालले बताए । ‘तीन वर्षको कार्यालय भाडाबापत हलेसी तुवाचुङका फणिन्द्रकुमार राईका नाममा रहेको खाताबाट २ लाख ३७ हजारको चेक दिनुभएको थियो, पैसा निकाल्न जाँदा खातामा पैसै छैन रहेछ,’ उनले भने, ‘त्यसपछि चेक बाउन्स गरेर गत असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थिएँ । तर, अहिलेसम्म प्रहरीले केही गरेको छैन ।’
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले भने यसबारे बैंकलाई पत्र लेखेको तर त्यसको जवाफ नआइसकेकाले कारबाही प्रक्रियामा ढिलाइ भएको बताए । ‘उहाँको निवेदनका आधारमा बैंकलाई पत्र लेखिएको छ,’ उनले भने, ‘बैंकबाट पत्रको जवाफ आएपछि कारबाहीको प्रक्रिया अघि बढ्छ ।’
कर्मचारीलाई समेत तलव र उनीहरूले जम्मा गरेको बचत रकम फिर्ता नभएको बजार प्रतिनिधिका रूपमा कार्यरत कर्मचारी रमिला राईले बताइन् । उनको ६ महिनाको तलव र करिब ८ हजार बचत फिर्ता नपाएको दुःखेसो गरेकी छन् । ‘बुवा बिरामी हुँदा मागें, भाइको बिहे हुँदा मागें तर दिइएन,’ राईले भनिन्, ‘कम्तीमा काम गरेपछि पैसा त दिनु पर्छ नि !’
उक्त सहकारीमै बजार प्रतिनिधिकै रूपमा कार्यरत मनिता राईले पनि ३ महिनाको तलव नपाएको बताइन् । यसबाहेक उनकी आमा मनकुमारी राईका नामबाट जम्मा गरेको ३५ हजार बचत समेत फिर्ता नपाएको उनको दुःखेसो छ ।
सहकारीका अध्यक्ष दीपेन्द्र राईले भने धेरैजसोको ठूलठूलो रकम फिर्ता गरिसकेको र बाँकी केही व्यक्तिको बचत रकम फिर्ता गर्ने बताए । ‘नियतबस बचत फिर्ता नगरेको होइन, लगानी गरेको ऋण नै फिर्ता नभएकाले दिन नसकेको हुँ । ऋण लगानी गरेको ४०–४५ लाख उठेको छैन,’ उनले भने, ‘त्यो उठ्नासाथ बचतकर्ता सबैको रकम फिर्ता हुन्छ ।’
