सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय नगरी पिके क्षेत्रका १८ वटा पुरातात्त्विक मानेहरूको पुनःनिर्माण गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका–१० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्राचीनकालमा निर्माण भएका धार्मिक ऐतिहासिक सम्पदाका रूपमा रहेका मानेहरूको स्थानीयको अग्रसरतामा पुनःनिर्माण गरिएको हो ।
पिके टाप्टिङ समाज सेवाको अगुवाइमा स्थानीयबाटै पैसा संकलन गरी पुरातात्विक सम्पदाको जिर्णोद्धार गरिएको हो । सयौं वर्ष अगाडि तिब्बतबाट आएका बुद्धिष्ट अगुवाहरूले निर्माण गरेका मानेहरू पटक–पटक गएका भूकम्प र संरक्षणको अभावमा जीर्ण बनेका थिए । तल्लो सोलुको आकर्षक पर्यटकीय गन्तव्य पिके डाँडा पदमार्गमा पर्ने उक्त मानेको पुनःनिर्माण भएसँगै त्यस क्षेत्रको सौन्दर्यमा टेवा पुगेको छ ।
ऐतिहासिक माने मर्मत गर्न ३ वर्ष लागेको छ । ‘हामीले ३ वर्ष अगाडिबाट सुरु गरेको मर्मत अभियान अहिले भर्खरै सम्पन्न गरेका छौं,’ पिके टाप्टिङ समाज सेवा संस्थाका अध्यक्ष ङवाङ फुरी शेर्पाले कान्तिपुरसँग भने । उक्त मर्मत कार्यमा ४५ लाख रुपैयाँ खर्च भएको छ । ‘हामीले यस क्षेत्रमा जन्मेर देश विदेशमा बस्ने सबैबाट सहयोग संकलन गरेर यत्तिको रकम जम्मा गर्न सफल भयौं र मर्मत कार्य सम्भव भयो,’ उनले भने । उक्त कार्यमा सोलुदुधकुण्ड नगरपालिकाले ५ लाख रकम उपलब्ध गराएको छ । माने निर्माण कार्यमा सहयोग गर्ने चन्दादाताहरूको नामावली शिलालेखमा उल्लेख गरिएको संस्थाले जनाएको छ । 
यस क्षेत्रमा रहेका बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रतीक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको माने पर्खालहरूको जीर्ण अवस्थामा रहेकाले मर्मत गरिएको संस्थाको भनाइ छ । पुर्खाको सम्मान र इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको संस्थाका महासचिव ङिम्टी शेर्पाले बताए ।
जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीहरूको संस्कार, संस्कृति, रहनसहन तथा मनोरम हिमशृंखलाको अवलोकनका लागि पिके पदमार्ग प्रख्यात छ । समुद्री सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको पिके पिकबाट नेपालमा अवस्थित ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालमध्ये ६ वटा हिमाल देख्न सकिन्छ ।
