कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षकहरू महाधिवेशनमा भोट हाल्न गएपछि पठन-पाठन प्रभावित

डम्बरसिं राई

खोटाङ — नेपाली कांग्रेसको जारी अधिवेशनमा शिक्षकहरू मतदान गर्न गएपछि चुइचुम्मा गाउँपालिका–५ एक माध्यमिक विद्यालयको पठन-पाठन नै प्रभावित भएको छ ।

शिक्षकहरू महाधिवेशनमा भोट हाल्न गएपछि पठन-पाठन प्रभावित

कांग्रेसको जारी जिल्ला अधिवेशनमा मतदान गर्न प्रअसहित अधिकांश शिक्षकहरू गएपछि चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वरछितापोखरी डाडाँखर्कस्थित सरस्वती माविको पठन-पाठन प्रभावित बनेको हो ।

सरस्वती माविका प्रअ सुमन खड्का क्षेत्रीय प्रतिनिधिमा विजयी भएपछि आफ्ना उम्मेदवारलाई भोट हाल्न दिक्तेल गएपछि विद्यालयको पठन–पाठन प्रभावित भएको छ । प्रअ नै प्रत्यक्ष राजनीतिमा सक्रिय भएकाले पठन–पाठन डामाडोल भएको उक्त विद्यालयकै शिक्षक धीराज खड्का र विद्यार्थीहरूले गुनासो गरेका छन् ।

‘प्रअ नै प्रत्यक्ष राजनीतिमा सक्रिय हुनुभएकाले विद्यालयको पठन-पाठन डामाडोल भएको छ’ शिक्षक खड्काले भने, ‘पठन-पाठनबारे प्रश्न उठाउँदा उहाँ इगो लिनुहुन्छ ।’

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोदय माविकी शिक्षिका लिलामायाँ विष्ट, दिप्रुङ चुइचम्मा गाउँपालिका–३ छोरम्बुस्थित चण्डी निकेतन प्राविका प्रअ मणिकुमार राई पनि क्षेत्रीय प्रतिनिधि चुनिएर जिल्ला अधिवेशनमा भोट हाल्न दिक्तेल गएका छन् ।

छोरम्बुकै शान्ति माविकी शिक्षिका डोलकुमारी बस्नेत क्षेत्रीय प्रतिनिधिमा विजयी भएर जिल्ला अधिवेशनमा भोट हाल्न सदरमुकाम पुगेकी छन् । सोमबारदेखि नै उनी अनुपस्थित हुँदा विद्यालयको पठन-पाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र राईले बताए । ‘विद्यालयको पठन-पाठ नै प्रभावित हुने गरी राजनीति गर्छन्,’ राईले भने, ‘जानकारी गराउनु भन्दा पनि गराएनन् ।’

यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित पञ्चकौशिका माविका प्रअ पवनकुमार बस्नेत, शिक्षक बलराम बस्नेत पनि मतदान गर्न दिक्तेल गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन भुजेलले बताए । बतासेकै भण्डारीडाडाँस्थित जनता माविका प्रअ पवन राई पनि भोट हाल्नै दिक्तेल गएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोदय माविकी लिलामायाँ विष्ट भोट हाल्न दिक्तेल गएपछि विद्यालयको पठन–पाठन प्रभावित भएको अभिभावकहरूले बताएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित शान्ति माविका शिक्षक गोविन्द बस्नेत पनि अधिवेशनमा भोट हाल्न दिक्तेल पुगेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका प्रअ जसराज किराती पनि सातौं जिल्ला अधिवेशनमा मतदान गर्न गएपछि विद्यालयको पठन–पाठन प्रभावित भएको अभिभावकहरूको गुनासो छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित नवज्योति प्राविका प्रअ मणिराज राई पनि अधिवेशनमा गएपछि पठन–पाठन प्रभावित भएको अभिभावक र विद्यार्थीहरूले गुनासो गरेका छन् ।

यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित स्वास्थ्य चौकीकी अनमी चन्द्रमायाँ राई महिलातर्फको खुला क्षेत्रीय प्रतिनिधिमा विजयी भएर जिल्ला अधिवेशनमा मतदान गर्न दिक्तेल गएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित कोरोना अस्पतालमा कार्यरत गजेन्द्र राई पनि भोट हाल्न दिक्तेल नै गएका छन् ।

अधिकांश शिक्षकहरू भने आफ्नो राजनीतिक अधिकार भएकाले मतदानमा सहभागी हुन पाउनुपर्ने तर्क गर्छन् । यस्ता गतिविधिमा संलग्न हुन शिक्षक र कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले रोक्नुपर्नेमा यहाँका जनप्रतिनिधिहरूले नै प्रश्रय दिने गरेको स्थानीयहरूको गुनासो छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले राजनीतिक संरक्षण दिने गरेको एक स्थानीय रामप्रसाद दंगालले बताए । ‘विद्यालयको पठन–पाठन प्रभावित हुने गरी शिक्षकलाई दुरुपयोग गरिएको छ । यस्ता शिक्षकलाई कानुनी कारबाही हुनुपर्छ,' दंगालले बताए ।

साथै उनीहरूलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको संरक्षण हुने गरेको उनको आरोप छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने पठन–पाठन नै प्रभावित हुने गरी विद्यालयमा अनुपस्थित भएकाले उनीहरूलाई प्रक्रिया पुर्‍याएर कारबाही गर्ने बताए ।

नेपाली कांग्रेस खोटाङको मतदान बुधबार मात्रै हुने भएको छ । मतपत्र छापिन ढिलाइ भएकाले मतदान बुधबारका लागि सरेको हो । जिल्ला सचिव ज्ञानेन्द्र जोशीका अनुसार मतपत्र छाप्न समय लागेकाले बुधबार मतदान सार्नु परेको हो ।

काठमाडौंस्थित निर्वाचन आयोगले भने मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षक र कर्मचारीहरूलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै निर्देशन दिएको छ । त्यसरी दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन पनि मातहतका निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।

शिक्षक-कर्मचारीलाई दलका पदाधिकारी र सदस्यबाट हटाउन आयोगको निर्देशन

प्रकाशित : मंसिर ७, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?