कांग्रेसको यही नेतृत्वमा मुलुकले नयाँ दिशा लिन्छ : आङ्देम्बे

४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा आङ्देम्बेले वर्तमान नेतृत्वले कार्यकर्ताको विश्वास जोगाउनुपर्ने जोड दिँदै कांग्रेसले फेरि मुलुकलाई सही बाटोमा डोर्‍याउने दाबी गरे ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

The country will take a new direction under this very leadership of the Congress: Angdembe

काठमाडौं — कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसको वर्तमान नेतृत्वप्रति पूर्ण भरोसा रहेको र यही नेतृत्वमा मुलुकले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका छन् ।

४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा उनले नेतृत्वले कार्यकर्ताको विश्वास जोगाउनुपर्ने जोड दिँदै कांग्रेसले फेरि मुलुकलाई सही बाटोमा डोर्‍याउने दाबी गरे।

'कांग्रेसको नेतृत्वमा मुलुकले काँचुली फेर्नेछ, यो मेरो दृढ विश्वास हो,' उनले भने, 'नेतृत्व उमेरले सानो भए पनि बुद्धिले ठुलो हुनुहुन्छ।देशको नेतृत्व गरिरहनुभएको छ, कार्यकर्ताको विश्वास कायम राखिदिनुहोस्।म पनि कार्यकर्ताका रूपमा त्यो विश्वास जोगाइराख्ने प्रण गर्छु ।'

आङदेम्बेले सत्ता प्राप्तिको अंक गणितमा कांग्रेसको समाजवादी दर्शन र वैचारिक पहिचान ओझेलमा परेको भन्दै बीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल विचारलाई पुनः स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।

'बीपीले ५ दशकअघि राष्ट्रियता र प्रजातन्त्रलाई परिपूरक रूपमा अघि बढाउने मेलमिलापको नीति दिएका थिए,' उनले भने, 'तर आज कांग्रेसको समाजवादी दर्शन र विचार सत्ता प्राप्तिको अंकगणितमा किचिएको, थिचिएको र मिचिएको छ ।त्यसैले पार्टी आफ्नो पहिचान गुमाउने अवस्थामा पुगेको छ ।'

उनले बीपी स्मृति दिवसलाई नयाँ वैचारिक संकल्प गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्दै कांग्रेसले पुरानै अभ्यास दोहोर्‍याएर मात्रै अघि बढ्न नसक्ने बताए ।

त्यसक्रममा उनले अहिले नेपाली समाज, पार्टी र संसद्मा विवेक र तर्क कमजोर बन्दै गएको टिप्पणी गर्दै राजनीतिलाई नाफा-घाटाको हिसाबबाट होइन, गरिब, किसान र आम नागरिकको दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याए ।

कान्तिपुर

Link copied successfully