कांग्रेस सभापति थापा- 'एउटा चुनाव हारियो भन्दैमा आस्थासँग सम्झौता गर्ने कांग्रेस होइन । हाम्रो पहिलो प्राथमिकता नागरिकको भरोसा जित्नु हो । कांग्रेसलाई सत्तासँग होइन, समाजसँग जोड्नुपर्छ । समाजसँग जोडिएको कांग्रेसलाई नागरिकले आफैं सत्तामा पुर्याउँछन् ।'
काठमाडौं — कांग्रेसका सभापति गगन थापाले कांग्रेसलाई केवल चुनाव जित्ने र सरकार बनाउने पार्टीका रूपमा नभई समाज परिवर्तनको नेतृत्व गर्ने राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्ने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले जरा अभियानपछि अब कांग्रेसले ‘एनसी फर एनसी (नेपाली कांग्रेस फर नेसनल कज)’ अभियान सञ्चालन गर्ने घोषणा पनि गरेका छन् ।
कार्यक्रममा थापाले कांग्रेस अहिले चुनाव केन्द्रित राजनीतिमा सीमित भएको भन्दै त्यसबाट बाहिर निस्कनुपर्ने आवश्यकता औंल्याए । 'हामी इलेक्सन मेसिन जस्तो मात्रै हुनुहुँदैन,' उनले भने, 'कांग्रेस सरकार बनाउन भोट माग्न आउने पार्टी मात्र होइन, समाज बनाउने संकल्प बोकेको पार्टी हो । आज प्रश्न हाम्रो क्षमतामाथि होइन, हाम्रो परिचयमाथि उठेको छ ।'
उनले कांग्रेसको पहिचान समाजसँग जोडिएको पार्टीका रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिँदै जहाँ समस्या हुन्छ त्यहाँ कांग्रेस देखिनुपर्ने बताए। 'जहाँ समस्या हुन्छ, त्यहाँ कांग्रेस देखिनुपर्छ । विपत्ति आउँछ भने कांग्रेस अगाडि देखिनुपर्छ,' उनले भने, 'हाम्रो राजनीति शक्ति र सत्ताको प्रतिस्पर्धामा मात्रै सीमित हुनुहुँदैन । समाज परिवर्तनका मुद्दामा पनि कांग्रेस अग्रसर हुनुपर्छ ।'
थापाले निर्वाचनलाई मात्र केन्द्रमा राखेर राजनीति गर्न नहुने धारणा राखे ।
'एउटा चुनाव हारियो भन्दैमा आस्थासँग सम्झौता गर्ने कांग्रेस होइन,' उनले भने, 'हाम्रो पहिलो प्राथमिकता नागरिकको भरोसा जित्नु हो । कांग्रेसलाई सत्तासँग होइन, समाजसँग जोड्नुपर्छ । समाजसँग जोडिएको कांग्रेसलाई नागरिकले आफैं सत्तामा पुर्याउँछन् । त्यसका लागि पहिला जहाँ गल्ती भएको छ, त्यहीँबाट सुधार सुरु गर्नुपर्छ ।'
