विपक्षी दल नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिसकेको छ । उनी केन्द्रको राजनीतिक छलफलबाट निकास निस्कने आशा गरिरहेको बताउँछन् ।
What you should know
धनगढी — प्रदेशसभामा प्रस्तुत बजेट पारित हुन नसकेर निष्क्रिय भएपछि एकातिर सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यताको अवस्थामा छ भने अर्कोतिर सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा छन् । यस्तो अवस्थामा मुख्यमन्त्री शाह राजीनामा दिन्छन् या संविधानले दिएको ३० दिनको सुविधा उपयोग गर्दै प्रदेशसभामा विश्वासको मत परीक्षणको बाटो रोज्छन् ? साथै, यो प्रदेश कहिलेसम्म बजेट शून्यताबाट निकास पाउँछ ? यतिबेला सुदूरपश्चिममा यिनै प्रश्नमा चर्चा चलिरहेको छ ।
एमालेको साझेदारीमा रहेको कांग्रेस नेतृत्वको संयुक्त सरकारले दुवै दलका मन्त्रीहरूको सहमतिमै १ असारमा प्रदेशसभामा आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गरेको थियो । तर एमालेले बजेट अस्वीकार गर्दै ६ वटै मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ मात्र कायम गर्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गरेपछि दुई दलको सहकार्य भत्किएको थियो ।
त्यसैको प्रतिक्रियास्वरूप ३१ असारमा सरकारमा रहेका एक राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरे । आफ्ना मन्त्री हटाइएपछि एमालेले पनि सरकारबाट समर्थन फिर्ता लियो । मुख्यमन्त्री शाह अल्पमतमा परेपछि विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री शाहलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिसकेको छ ।
तर, मुख्यमन्त्री शाह तत्काल पद छाड्ने मनस्थितिमा भने देखिएका छैनन् । उनी अहिले केन्द्रमा भइरहेको राजनीतिक छलफलबाट कुनै न कुनै निकास निस्कने आशा गरिरहेको बताउँछन् । ‘हतारमा कुनै निर्णय गरिहाल्नुपर्ने अवस्था छैन । संविधानले ३० दिनको समय दिएकै छ,’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्रमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । केही निकास आउँछ होला भन्ने लागेको छ ।’
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा वा साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ‘जहाँसम्म राजीनामाभन्दा पनि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत परीक्षण गर्ने विचारमा छु,’ मुख्यमन्त्री शाहले भने, ‘प्रदेशमा पनि विभिन्न दलहरूसँग वार्ता छलफल चलिरहेकै छ ।’
यसअघि कांग्रेस नेतृत्वको सरकारका लागि कांग्रेसका १८ र एमालेका ११ प्रदेश सांसद थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ । कांग्रेस र एमालेको सहकार्य टुटेको अवस्थामा नेकपा निर्णायक बनेको छ । २० (सभामुख र एक जना निलम्बितबाहेक) जना सांसद रहेको नेकपा सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल हो । प्रदेशसभामा एक जना राप्रपा सांसद छन् भने एक जना प्रदेश सांसदको पद रिक्त छ ।
नयाँ सरकार गठनका लागि नेकपा, कांग्रेस र एमालेमध्ये कम्तीमा दुई मिल्नुपर्नेछ । कांग्रेस सभापति गगन थापाले तीन वटै दल मिलेर प्रदेशमा सरकार गठन गर्न सहमत नहुने सार्वजनिक रूपमा भनिसकेका छन् । एमालेसँग सहकार्य टुटेपछि मुख्यमन्त्री शाहले नेकपाको सहयोग मागेका छन् । तर नेकपाले मुख्यमन्त्रीको राजीनामा मागेको छ । ‘अल्पमतमा परिसकेकाले मुख्यमन्त्री शाहले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने हाम्रो संसदीय दलको निर्णय छ,’ नेकपा संसदीय दलका नेता खगराज भट्टले भने, ‘हामीले त आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेका छौं ।’
यस्तै, राजनीतिक अस्थिरतासँगै सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ । आर्थिक वर्ष ०८२/८३ को अन्तिम दिनसम्म पनि सरकारले वैकल्पिक उपायबारे कुनै पहल नगरेका कारण प्रदेश सरकार १ साउनदेखि बजेट शून्यतामा गएको हो । योसहित सुदूरपश्चिम दोस्रो पटक बजेट शून्यतामा गएको हो । यसअघि ०८१/८२ मा पनि राजनीतिक खिचातानीकै कारण तीन महिना बजेट शून्यताको अवस्था आएको थियो ।
बजेट शून्यताको अवस्थामा प्रदेश सरकारका कुनै पनि निकायले खर्च गर्न पाउने छैनन् । मुख्यमन्त्री शाह अध्यादेशमार्फत पेस्की बजेट ल्याउने कि भन्नेमा पनि छलफल भइरहेको बताउँछन् । पेस्की बजेटअन्तर्गत राजस्व संकलन, चालु तथा प्रशासनिक खर्च गर्नका लागि विधेयक ल्याउने सरकारको अधिकार रहने उनको भनाइ छ । बजेट शून्यताका कारण सरकारलाई खर्च गर्ने बाटो बन्द हुने भए पनि राजस्व संकलन र सेवा प्रवाह भने रोकिने छैन । आर्थिक ऐनको अभावमा सक्रिय हुने सामयिक राजस्व संकलन ऐन २०८१ अनुसार सरकारले राजस्व संकलन गर्न पाउनेछ ।
एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेट शून्यताको अवस्थाको सम्पूर्ण जिम्मेवार अहिलेका मुख्यमन्त्री रहेको आरोप लगाए । ‘मुख्यमन्त्रीले असार महिनाभर कुनै पहल गरेनन्, हामीले त बजेट प्रस्तुत भएलगत्तै अस्वीकार गर्दै पारित नगर्ने निर्णय गरिसकेका थियौं,’ उनले भने, ‘मुख्यमन्त्रीले पहल गरेको भए प्रदेशका साझा समस्याबारे पुनर्विचार गर्न सक्थ्यौं ।’
पटकपटक प्रदेश सरकार बजेट शून्यतामा जानु प्रदेश सरकार सञ्चालकहरूको गैरजिम्मेवारीको हद भएको नागरिक समाजका अगुवाहरूको टिप्पणी छ । ‘यो प्रदेश सरकार त सुध्रिँदै नसुध्रिने भयो, नेताहरूले त प्रदेशलाई खेलौना जस्तै बनाए,’ धनगढीका नागरिक अगुवा प्रमोद पाठकले भने, ‘जताततै बेथिति मात्रै सुनिन्छ । त्यसैमा समयमा बजेट पनि ल्याउन नसक्ने भएपछि प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठेको छ ।’
