पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेको कारण पार्टी कमजोर बनेको पनि उनले स्वीकार गरेका छन् ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै अगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अर्कालाई नसमाती उठ्न नसक्ने लहरो नभएको बताए ।
‘हामी यस्तो लहरो होइनौं जसले अर्कालाई नसमातीकन उठ्न सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौँ । हामी दरो र मजबुत वृक्ष हौं । अरूको बलमा उम्रेका पनि होइनौं । हामी आफैं उम्रिँदै हुर्किंदै मजबुत हुँदै अनेक आँधी, हुरी, तुफान, बाढीसँग सामना गरेर आएका छौं,' उनले भने, 'अर्को कसैलाई नसमातीकन उठ्न नसक्ने खालको त्यान्द्रो लहरो होइन एमाले । एमाले एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो ।'
पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेको कारण पार्टी कमजोर बनेको पनि उनले स्वीकार गरे । पार्टीमा आईटी प्रशिक्षण गर्न नसक्दा सूचना र प्रविधिको हमलामा पछि परेको भन्दै उनले थपे, 'एमालेलाई अफ्ठ्यारोतर्फ धकेल्ने प्रयास भइरहेको छ । पार्टीको पुनर्जागरण र पुनःउत्थानमार्फत त्यसलाई पराजित गर्नुपर्नेछ ।'
