एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो

मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो दलका मन्त्रीहरु बर्खास्त गरेपछि नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

असार ३१, २०८३

अर्जुन शाह

UML withdraws support to Sudurpaschim government

धनगढी — नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट सरकारमा रहेका एक जना राज्यमन्त्रीसहित चार जना मन्त्रीहरुलाई बुधबार दिउँसो बर्खास्त गरेका थिए ।

मुख्यमन्त्री शाहले आफ्नो दलका मन्त्रीहरु बर्खास्त गरेपछि नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकबाट बुधबार साँझ ५ बजेदेखि लागु हुनेगरि समर्थन फिर्ता लिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।

‘राजनीतिक सहमतिको सरकार थियो । तर मुख्यमन्त्रीले साढे पाँच अर्ब बजेट एकलौटी रुपमा आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन गर्नुभयो । यसले बजेट निर्माणको मूल्य मान्यतालाई उलंघन गर्‍यो,’ दल नेता रावलले भने, ‘यस बीचमा पनि हामीले विभिन्न चरणमा छलफल गर्‍यौं, तर उहाँले दम्भ देखाउनुभयो । आफ्नै दलभित्र पनि अल्पमतमा परेपछि उहाँले आजको निर्णय गर्नु भएको हो । अब हामीले समर्थन फिर्ता लिने निर्णय गरेका छौं ।’

यसअघि मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँदलाई पदमुक्त गरेका थिए ।

आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ दुई दलबीच खटपट चलिरहेको थियो । एमालेले आफैं सहभागी सरकारले ल्याएको बजेट अस्वीकार गर्दै सांसदहरुले खर्च कटौतीको प्रस्तावसमेत दर्ता गराएपछि कांग्रेस एमालेको सम्बन्ध चिसिएको थियो । 

बजेट पारित गर्न २ दिन बाँकी रहँदा सरकार नै अल्पमतमा परेपछि थप अन्योल सिर्जना भएको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully