नागरिक समाज, प्रतिपक्ष र सञ्चारमाध्यमले सरकारमाथि गरेका प्रश्न रोक्ने प्रयास भइरहेको भन्दै कांग्रेस सचेतक निश्कल राईले भने- 'सरकारले जतिपटक १८२ सिटको प्रचण्ड बहुमत दोहोर्याए पनि त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का दिएको छैन ।'
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले प्रश्न गर्ने अधिकार कुण्ठित गर्न खोजेको बताएको छ ।कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गर्न हुन्न भन्ने कुरा स्थापित गर्न खोजिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक राईले जतिपटक बहुमत ल्याए पनि प्रश्न गर्ने अधिकार खोस्न सकिन्नँ भन्ने ख्याल राख्न सरकारलाई सचेत गराएका छन् । 'संविधान सर्वोच्च कानुन हो । बहुमत संविधानभन्दा माथि छैन । बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्चिने अधिकार दिँदेन,' राईले भने, 'सरकारले जतिपटक १८२ सिटको प्रचण्ड बहुमत दोहोर्याए पनि त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का दिएको छैन ।'
नागरिक समाज, प्रतिपक्ष र सञ्चारमाध्यमले सरकारमाथि गरिएका प्रश्न रोक्ने प्रयास सरकारबाट भइरहेको भन्दै राईले सरकारलाई संविधानको ख्याल राख्न सुझाव दिएका छन् । 'सरकारले खासगरी श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यति मात्र कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ,' उनले भने, 'यो सरकार पनि भन्दै छ तँ बोल् त्यति मात्र जो म सुन्न चाहन्छु, तँ हेर यति मात्र जति म देखाउन चाहन्छु, तँ सुन् त्यति मात्र जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रताको घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।'
राईले जेन-जी आन्दोलनको बलमा सरकारमा गएपछि जेन-जी युवाहरूमाथि नै बल प्रयोग भएको भन्दै सरकारको आलोचना गरेका छन् । 'जुन जेन-जीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ढाकेको थियो, आज त्यही जेन-जी आफैले रोजेको सरकारको लाठी खाइरहेको छ । जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट बर्जित गरिएको छ, यो के हो ?,' राईले सोधे ।
सरकार निरंकुश बन्दै गइरहेको हो कि भन्ने देखिएको पनि सचेतक राईले बताए । 'सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढेको छ । प्रश्न वर्जित हुन थालेको छ । लोकतन्त्रलाई संस्थागत हुन नदिने एकपछि अर्को कार्य भइरहेको छ । सरकार निरंकुश बन्दै गइरहेको छ,' उनले भने, 'सरकार सत्ताको उन्मादले हुनुपर्छ, म सबै त भन्दिनँ विवेकशील अभियान, जेन-जी मुभमेन्ट, अभिव्यक्ति र प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चताका लागि लडेर आउनुभएका सत्तापक्षमा बस्नुहुने माननीयज्युहरूको मुखमा टेप लागेको छ ।'
प्रतिपक्षी राजनीतिक दलका सभापति गगन थापाको घर, कान्तिपुर मिडिया ग्रुप र अनलाइन खबरको कार्यालय अगाडि गाडी पार्किङ गरेर अवरोध गरेको प्रति पनि सचेतक राईले आपत्ति जनाएका छन् ।
