रास्वपा सचेतकको प्रश्न- ‘ज्ञानेन्द्रको बन्दुकसामु नझुकेको नेपाली सञ्चार क्षेत्र सडकमा दुईचार गाडी तेर्स्याएर तर्सिन्छ ?’

रास्वपा सचेतक प्रकाशचन्द्र परियारले संसद्‌मा भने- 'हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् ।'

असार ३०, २०८३

कान्तिपुर संवाददाता

The Rashtriya Swayamsevak Sangh (RSS) whip's question: ”Will the Nepali media sector, which has not bowed to Gyanendra's gun, be intimidated by two or four vehicles parked on the road?”

काठमाडौँ — सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध पुर्‍याएको घटनाको सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले भर्त्सना गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सिएको नेपाली प्रेस सडकमा दुई-चार गाडी तेर्स्याउँदैमा नतर्सिने बताए । 

कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टिभीको कार्यालयका प्रवेशद्वारमा सोमबार गाडी तेर्स्याएर अवरोध सिर्जना गरेका थिए । त्यसको रास्वपाका सचेतक परियारले प्रतिनिधिसभाको बैठकमा नै भर्त्सना गरेका हुन् । 'हिजो राजधानीमा अग्रणी सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चारगृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो म यसको कडा शब्दमा भर्त्सना गर्दछु । सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन् तर बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो,' परियारले भने, 'हामीले बिर्सेका छैनौं यो देशमा पत्रकारिताले कति ठूलो आँधीबेहरी सामना गरेर आजको उचाइ हासिल गरेको हो भनेर । हिजो निरंकुश शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचारकक्षभित्र बसेर समाचार सेन्सर गर्थे । म त्यसको साक्षी हुँ । त्यतिबेला नझुकेको नेपाली सञ्चारमाध्यम आज सडकमा दुई चारवटा गाडी तेर्स्याएर तर्सिन्छ होला र ?'

परियारले नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको उल्लेख गर्दै रास्वपा त्यसमा प्रतिबद्ध रहेको पनि बताए । 'हाम्रो दल रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टानझैं उभिएको दल हो । हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् ।'

सत्तारुढ दल रास्वपाले प्रेस स्वतन्त्रताका पक्षमा आफूलाई सदैव उभ्याउने पनि परियारको भनाइ थियो । सञ्चारमाध्यममा पनि समस्या रहेको र अन्य क्षेत्रमा पनि समस्या रहेको तर त्यसका नाममा त्रास फैलाउने कार्य स्वीकार्य नहुने पनि उनको भनाइ थियो । परियारले माग गरे, 'गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, सबै सञ्चारगृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षा प्रत्याभूति तत्काल गरियोस् । पत्रकारितालाई त्रासरहित वातावरणमा काम गर्न दिइयोस् ।'

कान्तिपुर

Link copied successfully