सरकार प्रश्न र आलोचनाभन्दा माथि हुन नसक्ने, प्रेसलाई आतंकित गरेर होइन सम्मान गरेर मात्र लोकतन्त्र बलियो हुने उल्लेख गर्दै पार्टीले प्रेसमाथिको कुनै पनि हस्तक्षेप अस्वीकार्य रहेको जनाएको छ ।
काठमाडौं — देशका प्रमुख सञ्चारगृहको गेटमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने तथा सञ्चारकर्मीलाई त्रसित बनाउने घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा उक्त घटनालाई संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहारको रूपमा व्याख्या गर्दै प्रेसलाई तर्साएर वा दबाबमा राखेर सत्यलाई रोक्न नसकिने उल्लेख गरिएको छ । सञ्चारमाध्यमलाई निशाना बनाउने प्रयास लोकतान्त्रिक मूल्य, संविधानको मर्म र विधिको शासनविपरीत भएको पनि पार्टीको भनाइ छ ।
नेकपाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सरकार प्रश्न र आलोचनाभन्दा माथि हुन नसक्ने, प्रेसलाई आतंकित गरेर होइन सम्मान गरेर मात्र लोकतन्त्र बलियो हुने उल्लेख गर्दै पार्टीले प्रेसमाथिको कुनै पनि हस्तक्षेप अस्वीकार्य रहेको जनाएको छ । साथै सञ्चारमाध्यममाथिको दबाब र त्रास अन्त्य गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
