प्रधानमन्त्री वालेन्द्र शाहले भनेका थिए, 'सुकुमवासी व्यवस्थापनको सबै काम भइरहेको छ । अब धेरै समय लाग्दैन । सुकुमवासीले आफ्नो विवरण नदिएका कारणले केही ढिला भएको हो ।'
काठमाडौँ — प्रधामन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न आइतबार बुढानिलकण्ठ पुगेका थिए ।
बिहान ११ बजेतिर लामिछाने निवास पुगेका प्रधानमन्त्री शाह दिउँसो सवा ३ बजेतिर फर्किएका थिए । दुई नेताबीच करिब ४ घण्टा छलफल भएको हो ।
शाह र लामिछानेबीचको छलफलमा प्रधानमन्त्रीका स्वकीय सचिव कुमार बेन र लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए ।
प्रधानमन्त्री र सभापतिबीच सुकुमवासीको व्यवस्थापन, गणेश नेपालीको आत्मदाह प्रकरण र सरकारका कामकारबाहीबारेमा लामो छलफल भएको थियो । सभापति लामिछानेले सुकुमवासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर प्रधानमन्त्री शाहसँग चासो राखेका थिए । सभापतिले राज्यले नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने बताएका थिए ।
जवाफमा प्रधानमन्त्री शाहले भनेका थिए, 'सुकुमवासी व्यवस्थापनको सबै काम भइरहेको छ । अब धेरै समय लाग्दैन । सुकुमवासीले आफ्नो विवरण नदिएका कारणले केही ढिला भएको हो ।'
बैठकमा सहभागीहरूका अनुसार सुकुमवासी समस्यालाई संवेदनशील भएर हेर्नुपर्ने र उनीहरूलाई जग्गा दिएर छिटो व्यवस्थापन गर्नुपर्नेमा दुई जनाबीच समान बुझाइ रहेको थियो ।
त्यस्तै, त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर मृत्यु भएका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्रीबीच छलफल भएको थियो । स्रोतले भन्यो, 'गणेश नेपालीको बारेमा दोष जसको भए पनि घटना भयो । एउटा परिवारमा बज्रपात पर्यो, सरकारको दायित्व उनीहरूलाई हेर्ने हो । परिवारलाई व्यवस्थापन गर्नुपर्छ । सहारा दिनुपर्छ । स्थानीय र केन्द्रीय सरकारले भूमिका खेल्नुपर्नेमा दुवैजना सहमत हुनुभएको थियो ।'
प्रधानमन्त्री शाहले गणेश नेपालीको सम्बन्धमा काठमाडौं महानगरपालिकाले गरेको सहमति र केन्द्र सरकारले गरिरहेको छलफलबारे जानकारी दिएका थिए ।
सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे प्रधानमन्त्रीले सभापतिलाई जानकारी गराएका थिए । सरकारले नीति र रणनीति बनाएर काम गरिरहेको जानकारी प्रधानमन्त्रीले सभापतिलाई दिएका थिए । 'प्रधानमन्त्रीले देखिने काम कम भएका हुन सक्छन् तर १०० दिनका काम पूरा भएका छन्, धेरै काम भइरहेका छन् । सार्वजनिक चर्चामा नआउने भए पनि काम भइरहेका छन् भन्ने प्रधानमन्त्रीले बताउनुभएको थियो,' स्रोतले भन्यो ।
