ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष राईले नयाँ आर्थिक वर्षको बजेट विनियोजनबाट नै सरकार गरिबको पक्षमा नभएको प्रस्ट भएको उल्लेख गरे ।
ताप्लेजुङ — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्कराज राईले अहिलेको सरकार गरिब, किसान, बेरोजगारका लागि नभएको आरोप लगाएका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष राईले नयाँ आर्थिक वर्षको बजेट विनियोजनबाट नै सरकार गरिबको पक्षमा नभएको प्रस्ट भएको उल्लेख गरे । उनले प्रश्न गर्दै भने, ‘गरिबको जीवनस्तर उकास्न, सुशासन कायम गर्न, उत्पादन बढाउन र रोजगारी सृजना गर्न कति पैसा छुट्याइएको छ, तपाईँहरूलाई थाहा छ ?,’
आफू सरकारलाई खबरदारी गरिरहेको भन्दै अध्यक्ष राईले नेपालमा सबै मान्छे मिलेर गाली गरे पनि आफ्नो लाइन नछोड्ने दाबी गरे ।
अध्यक्ष राईले स्थानीय र प्रदेशसभा सदस्यको उम्मेदवारको नामावली चाँडै सिफारिस गर्न जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिए । ‘समयमा उम्मेदवार लिस्ट प्राप्त होस्, श्रममा विश्वास गर्नेलाई टिकट दिनेछौँ,' उनले भने, ‘हामीले फस्ट मत ल्याउनु पर्छ । कमाउनका लागि, केही पाउनका लागि, जोड्नका लागि आएको व्यक्तिलाई श्रमदाता भनिँदैन । टिकट दिनुभन्दा पहिला हामी कागज गराउँछौँ ।’
अध्यक्ष राईले पार्टीमा गुटबन्दी गर्नेलाई तत्काल कारबाही गर्ने चेतावनी दिए । ‘हाम्रोमा कारबाही गर्नलाई बैठक बसिरहनु पर्दैन एक स्टाटसबाटै निकालिन्छ,’ उनले भने ।
