आत्मदाह प्रकरणमा विपक्षीद्वारा सरकारलाई प्रश्न, राष्ट्रिय सभाका सांसदद्वारा प्रधानमन्त्रीको राजीनामा माग

आत्मदाह प्रकरणमा प्रश्न उठाएकामा गृहमन्त्री गुरुङले उल्टै सांसदहरूको आलोचना गरे ।

असार २७, २०८३

जयसिंह महरा

In the self-immolation case, the opposition questions the government, National Assembly members demand the Prime Minister's resignation

What you should know

काठमाडौँ — गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले सरकारको जवाफदेहिता खोज्दै प्रश्न उठाएका छन् । राष्ट्रिय सभामा भने प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा नै मागिएको छ । 

प्रमुख प्रतिपक्ष कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री वालेन्द्र शाहमाथि प्रश्न उठाइन् । ‘राज्य संयन्त्र निरीह भएको हो ? तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ ?,’ थापाले भनिन्, ‘राज्य आतंकबाट एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदासमेत राज्य मूकदर्शक बन्यो । शरीर आगोमा दन्किइरहेको छ, राज्यले एम्बुलेन्स नपठाएर बरु प्रहरी लगाएर अपराधीझैं घिसारेर लग्यो ।’ शाह नेतृत्वको सरकार जनतालाई बचाउनेभन्दा पनि डिजिटल मोहमा मानवीय संवेदनशीलतालाई कुल्चिएर ‘लाइक’ बनाउने ध्याउन्नमा केन्द्रित भएको आरोप उनको छ । 

यस्तै नेकपाका सांसद वर्षमान पुनले सोधे, ‘गरिब, दुःखी, सुकुमवासीहरू संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन् ? उनीहरूले गरिखान पाउँदैनन् ? सरकारको यसमा ध्यान जाओस् र म जवाफ चाहन्छु ।’

मुगुबाट निर्वाचित कांग्रेस सांसद खड्ग शाहीले गणेशको गए राति नै मृत्यु भइसकेको तर सरकार पक्षले समयमा घोषणा नगरेको आरोप लगाए । ‘गणेश राति नै बितिसकेका रहेछन्, तर बिहानसम्म घोषणा गरिएन,’ उनले भने, ‘म र कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले वीर अस्पताल गएर हेरेपछि मात्र स्वास्थ्यमन्त्री निशा मेहता, अस्पतालका डिनलगायतलाई प्रश्न गर्‍यौं ।’ मान्छेको मृत्यु भइसकेपछि पनि पत्रकार सम्मेलन गरेर उपचार भइरहेको भनेकोमा उनले आपत्ति जनाए । 

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आत्मदाहको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए । राज्य असफल भएको र सरकार जनता, गरिबप्रति निर्दयी बनेको उनको भनाइ थियो । एमालेकै सांसद भूमिका लिम्बू सुब्बाले भनिन्, ‘गणेशको आत्मदाहको जिम्मेवारी सरकारले लिनुपर्छ । यो मृत्यु एउटा व्यक्तिको मृत्यु मात्रै होइन । यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो । घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न जोडदार माग गर्दछु ।’

कांग्रेस सांसद सीता (उर्मिला) थपलियाले घटनामा प्रधानमन्त्री जवाफदेही बन्नुपर्ने बताइन् । ‘प्रधानमन्त्रीज्यू, तपाईंको शासनमा गरिबले बाँच्न नपाउने हो ? मेयर हुँदा गरिबका साइकल लुटेर नष्ट गर्नुभयो, प्रधानमन्त्री हुँदा सुकुमवासीको घर भत्काउनुभयो, तर व्यवस्थापन गर्नुभएन, आज दैनिक मजदुरी गरेर खाने मान्छे बाँच्न नसक्ने बनाउनुभयो, यो सहर कसका लागि ?,’ उनले भनिन् ।

राष्ट्रिय सभामा भने सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा नै मागे । ‘जलिरहेको मान्छेलाई अपराधीझैं घिसारेर हस्पिटल पुर्‍याइन्छ । पुलिसहरू मान्छे आगोमा जलिरहँदा भाग्छन् र पछि उसलाई अपराधीझैं घिसारेर लग्छन् । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस्, बालेन सरकार राजीनामा दे,’ नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले भने । 

विपक्षी दलहरूले आत्मदाहको घटनामा प्रधानमन्त्री र सरकारमाथि प्रश्न उठाइरहेका बेला सत्तारूढ रास्वपाका सांसद गणेश कार्कीले देशमा दिनहुँ १८ जना मान्छेले आत्महत्या गर्ने बताए । सांसद आशिका तामाङले महानगर प्रहरीले मोटरसाइकल ह्विल लक गरेपछि मानसिक तनावमा आएर नेपालीले आत्मदाह गरेको बताइन् । 

रास्वपाकै सांसद प्रशान्त उप्रेतीले सामाजिक सञ्जाल र संसद्मा नेपालीको आत्मदाहको विषयमा पक्ष र विपक्षमा बहस भएकोमा असन्तुष्टि जनाए । ‘समाज यसरी विभाजन भएको देख्दा दुःख लागेको छ, यो मानवीय संवेदनाको विषय हो, कुनै राजनीति गर्नुपर्ने अथवा पक्ष–विपक्ष लिनुपर्ने विषय होइन,’ उनले भने ।

रास्वपाका सांसदले गणेशको मानसिक अवस्थामाथि प्रश्न उठाएपछि राप्रपा सचेतक खुस्बु ओलीले आपत्ति जनाइन् । सरकारले वास्तविक समस्याको समाधान गर्नुको सट्टा भाष्य निर्माण गर्न लागिपरेको उनको भनाइ थियो । ‘गणेश नेपालीको जीवनलाई नबुझेकाहरूले मानसिक स्वास्थ्यमा सीमित गर्ने दुष्प्रयास गरिरहेका छन्, जब–जब यो सरकारसँग जवाफ हुँदैन, उसले सत्य होइन कथ्य रच्न थाल्छ, म यसमा खेद प्रकट गर्छु,’ उनले भनिन् ।

विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ र घटनाको जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले गणेशको आत्मदाहमा सरकारको कुनै भूमिका नभएको बताए । ‘हाम्रो तीन तहको सरकार हुन्छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्विल लक गरेको होइन । कुनै भिडियोमा छ, ट्राफिकले 

ह्विल लक लगाएको ? नगर प्रहरीले लगाएको छ,’ मन्त्री गुरुङले भने, ‘म विपक्षी दलका माननीयहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? राष्ट्रिय स्वतन्त्र पार्टीको छ ? यो प्रदेश सरकार कसको छ ? अहिले रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँग छ ।’ उनले नेपालीको आत्मदाह प्रकरणमा काठमाडौं महानगरपालिका जिम्मेवार रहेको बताए ।

आत्मदाह प्रकरणमा प्रश्न उठाएकामा गृहमन्त्री गुरुङले उल्टै सांसदहरूको आलोचना गरे । ‘म यो सदनलाई सोध्न चाहन्छु, कति जना हुनुहुन्थ्यो त्यो हस्पिटलमा, जति जनाले घाँटी चिच्याएर कराउनु भइरहेको छ यहाँ ? चिच्याएर कराएर मात्र हुँदैन यहाँ सदनमा,’ उनले भने । गृहमन्त्रीको यो भनाइ संसद्को रेकर्डबाट हटाउन विपक्षी नेकपाका सांसद गोपाल शर्माले सभामुखसँग माग गरेका थिए । तर, सभामुख डीपी अर्यालले न गृहमन्त्रीले सांसदहरूको आलोचना गरिरहँदा विषयमा बोल्न भने न सांसद शर्माले गरेको मागमा कुनै प्रतिक्रिया दिए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully