नेकपाले गणेश नेपालीको आत्मदाह घटनामा प्रधानमन्त्रीको धारणा माग गरेको छ ।
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले गरिब, सुकुमवासीलाई राजधानी काठमाडौंमा बाँच्न राज्यका कारण कठिनाइ भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद पुनले विगतमा प्रधानमन्त्री शाहले व्यक्त गरेका धारणा पनि स्मरण गराएका थिए । मुगुका गणेश नेपालीले आत्मदाहबारे प्रधानमन्त्री वालेन्द्र शाहको धारणा के हो भनेर पनि जवाफ माग गरेका छन् । ‘प्रधानमन्त्री हुनुहुन्छ, नयाँ-नयाँ विश्वासका साथ उहाँ जनमतसहित आउनुभएको छ । के यो (गणेश नेपालीको घटना) राज्यको असफलता हो ? या गरिब, दुःखी, सुकुमवासीहरू संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन् ? उनीहरूले गरिखान पाउँदैनन् भन्ने संकेत हो ? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु,' उनले भने ।
उनले इलामका प्रेम आचार्यले १० माघ २०७९ मा बानेश्वरमा आत्महत्या गर्दा हालका प्रधानमन्त्री एवं काठमाडौं महानगरका मेयर वालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको पोस्ट पढेर सुनाएका थिए । ‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । म उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्छु । यो सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाइरल भइराखेको सम्माननीय प्रधानमन्त्रीको २६ जनवरी २०२३ को एउटा स्टाटस छोटोमा उद्धृत गर्न चाहन्छु,' पुनले भने, ‘एकजना नागिरक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्दो कर्म गर्छन् । एक जना नागिरक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागिरक संसद् भवन अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण, धेरै संकेतहरू होलान् । तर, सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’
पुनले गणेश नेपालीको आत्मदाह प्रकरणबारे पनि प्रधानमन्त्रीको सोही धारणा छ वा परिवर्तन भयो ? भन्ने प्रश्न गरेका हुन् ।
