गणेश नेपालीको मृत्युलाई मानसिक स्वास्थ्यमा सीमित गर्ने दुष्प्रयास गरिरहेका छन् : खुस्बु ओली

खुस्बु ओलीले भनिन्- 'हालका प्रधानमन्त्रीले आफू मेयर हुँदा प्रेम आचार्यले आत्मदाह गर्दा उहाँले भन्नुभएको थियो त्यो आत्मदाहका धेरै कारण र संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो, के आज उहाँले नेतृत्व गरेको राज्य अलग्गै भएको हो ?'

असार २६, २०८३

कान्तिपुर संवाददाता

Khushbu Oli: There are attempts to confine Ganesh Nepali's death to mental health issues

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी शुक्रबार निधन भएका मुगुका गणेश नेपालीको मृत्युको कारण मानसिक स्वास्थ्य हो भन्ने भाष्य निर्माण गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ओलीले सरकारले वास्तविक समस्याको समाधान गर्नुको सट्टा भाष्य निर्माण गर्नमा लागिपरेको देखिएको बताएकी हुन् । ओलीले भनिन्, 'गणेश नेपालीको जीवनलाई नबुझेकाहरूले पनि आज उहाँको मृत्युलाई मानसिक स्वास्थ्यमा सीमित गर्ने दुष्प्रयास गरिरहेका छन् । जब-जब यो सरकारसँग जवाफ हुँदैन उसले सत्य होइन कथा रच्न थाल्छ, म यसका खेद प्रकट गर्छु ।' 

प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं महानगरको मेयर हुँदा २०७९ माघमा प्रेम आचार्यले आत्मदाह गरेको घटनामा दिएको प्रतिक्रिया स्मरण गर्न पनि ओलीले सुझाइन् । 'हालका प्रधानमन्त्रीले आफू मेयर हुँदा प्रेम आचार्यले आत्मदाह गर्दा भन्नुभएको थियो त्यो आत्मदाहका धेरै कारण र संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो । के आज उहाँले नेतृत्व गरेको राज्य अलग्गै भएको हो ?,' उनले प्रश्न गरिन्, 'आजको नैतिक जिम्मेवारी उहाँले स्वीकार्ने कि नस्वीकार्ने ? मेरो प्रत्यक्ष प्रश्न प्रधानमन्त्रीलाई ।'

राज्यको असफलताका कारणले गर्दा युवामा निराशा छाएको पनि ओलीको भनाइ थियो । 'संघर्ष गरेर पठाओ चलाउँदै जीवन धानिरहेको एक युवाले आफ्नै शरीरमा आगो लगाउँदै मृत्युवरणसम्म पुग्नु कुनै व्यक्तिगत असफलता होइन । यो राज्य र सरकारको संवेदनशीलता तथा जिम्मेवारीमाथिको गम्भीर प्रश्न हो । सरकारले सुशासन र समृद्धिको नाममा शासकीय सुधारका १०० बुँदे कार्यसूची सार्वजनिक गरेको थियो । १०० दिन पुगेपछि ८७ प्रतिशत प्रगति भएको दाबी पनि गर्‍यो तर प्रश्न यदि प्रगति ८७ प्रतिशत भएको थियो भने जनताको जीवनमा त्यो प्रगति किन महसुस भइरहेको छैन ?,' उनले भनिन् । 

मुलुकमा आशा पलाउनुपर्ने ठाउँमा भयावह निराशाको अवस्था किन आइरहेको हो भनेर ओलीले प्रश्न गरेकी छन् । 'किन आशाको ठाउँमा भयावह निराशा फैलिइरहेको छ ? यो निराशाको जिम्मेवारी सरकारले लिनुपर्छ कि पर्दैन ?,' उनले भनिन् ।

कान्तिपुर

Link copied successfully