प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो - अब कालो चस्मा खोल्ने बेला आएको छ

कांग्रेसले सोध्यो - 'शरीर आगोमा दन्किइरहेको छ, राज्यले एम्बुलेन्स नपठाएर बरु प्रहरी लगाएर अपराधीझैं घिसारेर लग्यो । म सरकारलाई सोध्ने चाहन्छु यो उद्दार हो कि गिरफ्तारी हो ?'

असार २६, २०८३

कान्तिपुर संवाददाता

Congress tells the Prime Minister: It's time to take off the black glasses

What you should know

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले काठमाडौं त्रिपुरेश्वरमा बिहीबार आफ्नो शरीरमा आगो लगाएका गणेश नेपालीको निधनका सम्बन्धमा स्पष्ट पार्न प्रधानमन्त्री वालेन्द्र शाहसँग माग गरेको छ । 

विपक्षमा हुँदा सरकारमाथि प्रश्न उठाउने प्रधानमन्त्री शाह सरकारको नेतृत्वमा पुगेपछि भने मौन रहेको कांग्रेसको भनाइ छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह गरिन् ।

'म तपाईंकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य साँच्चिकै यति निरीह र असफल भइसकेको हो कि आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँछ ? यदि होइन भने यस्ता घटना किन पटकपटक दोहोरिइरहेका छन्। अब कालो चश्मा खोल्ने बेला आएको छ,' थापाले भनिन्।

२०७९ माघमा प्रेम आचार्यले बानेश्वरमा आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर वालेन्द्र शाहले सरकारको विरोध गरेका थिए । सामाजिक संजालमार्फत् शाहले तत्कालीन सरकारको चर्को आलोचना गरेका थिए ।

कांग्रेसले प्रधानमन्त्रीलाई उक्त घटनामा लेखेको कुरा पनि स्मरण गराएको छ । थापाले भनिन्, 'हिजोको घटना (गणेश नेपालकीको निधन) मा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आझ स्वयं सरकारको नेतृतवमा हुँदा त्यै प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ ।'

महानगर प्रहरीले मोटरसाइकलमा 'ह्वील लक' लगाएपछि आफ्नो शरीरमा आगो लगाएका नेपालीमाथि सुरक्षाकर्मीले गरेको व्यवहारको पनि थापाले आलोचना गरिन् । 'राज्य आतंकबाट एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुकदर्शक बन्यो । शरीर आगोमा दन्किइरहेको छ, राज्यले एम्बुलेन्स नपठाएर बरु प्रहरी लगाएर अपराधीझैं घिसारेर लग्यो । म सरकारलाई सोध्ने चाहन्छु यो उद्दार हो कि गिरफ्तारी हो ?,' उनले भनिन् । 

सरकार जनताको पक्षमा काम गर्ने भन्दा पनि सामाजिक संजालमा आफ्ना कन्टेन्टको पछि लागेको पनि थापाको आराेप थियो । 'सरकार जनतालाई बचाउने भन्दा पनि सामाजिक संजाल डिजिटल मोहमा मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बनाउने ध्याउन्नमा केन्द्रित छ,' उनले भनिन्, 'देशले आशा गरेको भनिएको नयाँ सरकार आउँदा पनि यो सिलसिला रोकिएको छैन ।'

काठमाडौंका खोला किनाराका सुकुम्बासी बस्ती उठाउँदा १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राई आत्महत्या गरेको घटना पनि थापाले स्मरण गरेकी छन् । 

थापाले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको टिप्पणीको आलोचना गरेकी छन् । 

कान्तिपुर

Link copied successfully