संविधानको मर्ममाथि नै प्रश्न उठाइएपछि कार्यदलबाट अलग हुन बाध्य भयौं : नेकपा

नेकपा सांसद प्रमेश हमालले प्रतिनिधिसभा बैठकमा संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाए ।

असार २५, २०८३

न्युज एजेन्सी नेपाल

We were compelled to withdraw from the task force after questions were raised about the very spirit of the Constitution: NCP

What you should know

काठमाडौँ — प्रतिपक्ष दल नेकपाका सांसद प्रमेशकुमार हमालले संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयार पारिएको कार्यदलबाट आफनो पार्टी अलग हुनु परेको स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाए । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका आधारभूत कुरामा प्रश्न उठाउने गरी आफ्नो पार्टीले संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडानसमेत उनले राखे ।

‘संविधानलाई मान्छौं भनेर प्रतिज्ञा खाएर, शपथ खाएर बहाली भएको सरकार हो । यसका कुनै पनि आधारभूत कुरामाथि प्रश्न उठान पाइँदैन । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समतामूलक सहभागिता र त्यसमा हामीले राखेका कैयौं मौलिक अधिकारका विषय त्यति मात्रै होइन, हाम्रो मुलुक, देश, हाम्रो देशको अर्थतन्त्र समाजवाद उन्मुख हुनेछ भनेर संविधानमा लेखिएको छ । हामीले यी विषयमा प्रश्न उठाउने गरी संशोधनको खाका तयार गर्न सक्छौँ ?' उनले भने, 'यसको प्रक्रिया के हो, राष्ट्रिय सहमतिबेगर संविधान संशोधनको प्रक्रिया अघि बढ्न सक्छ ? त्यसैले अहिले संविधान संशोधनसम्बन्धी त्यो डकुमेन्ट लेख्नका लागि तयार गरिएको कार्य दलबाट मेरो पार्टी त्यसमा अलग हुने म सादर अनुरोध गर्छु ।'

प्रक्रिया नै अपारदर्शी र त्रुटिपूर्ण रहेको र संविधानको मर्ममाथि प्रश्न उठाउन खोज्ने प्रक्रियामा आफूहरु संलग्न नहुने उनले बताए ।सांसद हमालले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्रै अघि बढ्न सक्ने धारणासमेत राखे ।

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन् । कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् । एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन् । कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन । 

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए । उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असिम शाहलाई ६ बुँदे असहमतिपत्र बुझाएका छन् । 

न्युज

Link copied successfully