जातीय विभेदको जालो तोड्न सिंहदरबारको ढोका र चेतना दुवै खोलिनुपर्छ : सांसद सेच्नुरी

रास्वपा सांसद स्मृति सेन्चुरीले भनिन्- 'अब यो देशमा कुनै पनि बच्चाले आफ्नो जात लुकाएर बाँच्न नपरोस् ।'

असार २४, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्मृति सेन्चुरीले नेपाली समाजमा रहेको जातीय विभेदको जालो तोड्नका लागि राज्यले अग्रसरता लिनुपर्ने बताएकी छन् । दलित भएकै कारण काठमाडौंमै कोठा भाडामा नपाइने समस्या रहेको पनि सांसद सेन्चुरीको भनाइ थियो । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सेन्चुरीले समाजमा दलित भएका कारणले गर्दा बाँच्न मुस्किल पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएकी हुन् । 'आज पनि ८१ दिनदेखि 'सरकार कोठा खाली छ ?' भन्दै माइतीघर मण्डलको ब्यानरले यो राज्य र समाजलाई नै गिज्याइरहेको छ । शिक्षित र सभ्य भनिने सहरमा नै एउटा दलितले कोठा पाउन कठिन हुन्छ भने उनीहरू यो समाजमा मान्छे कहिले बन्ने ?,' सांसद सेच्नुरीले भनिन्, 'गृहमन्त्री माइतीघर मण्डल पुगेर नै सरकार रहेको अनुभूति दिलाउनुभयो तर जातीय विभेदको जालो तोड्नको लागि सिंहदरबारको ढोका र चेतना दुवै खोलिनुपर्छ । अब यो देशमा कुनै पनि बच्चाले आफ्नो जात लुकाएर बाँच्न नपरोस् ।'

सांसद सेन्चुरीले आफ्ना नागरिकको आत्मसम्मानमा आँच आउन दिन नहुने पनि बताइन् । उनले भनिन्, 'देशको सीमा मिचिँदा हामी सबैको रगत उम्लिन्छ तर आफ्नै देशको नागरिकको आत्मसम्मान मिचिँदा हाम्रो संवेदना किन मौन हुन्छ ? देशमा कानुन बन्यो राज्यले विभेदविरुद्ध प्रतिबद्धता पनि जनायो तर विभेदको मानसिकता अझै समाजमा जीवित नै छ,' उनले भनिन् ।

दलित समुदायका विभिन्न व्यक्तिमाथि भएका घटनाले नेपाली समाजमा दलितमाथि जातीय विभेद कति छ भन्ने कुरा उजागर गरेको सांसद सेन्चुरीले बताइन् ।

कान्तिपुर

Link copied successfully