नेपाल-भारत सीमाको विषय कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध छौं : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणबारेको बैठकमा रिपोर्टिङ गर्न दिए सांसदले बोलेका विवरण बाहिरिने र भारतीय मिडियाले अपव्याख्या गर्छन् भनेर पत्रकारलाई बाहिर निस्किन अनुरोध गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले बताइन् ।

असार २३, २०८३

जयसिंह महरा

We are committed to resolving the Nepal-India border issue through diplomatic means: Foreign Minister Khanal

What you should know

काठमाडौँ — नेपाल र भारतबीचको सीमा विवादको विषय दुई देशबीच कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध गरहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री खनालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् । समिति सभापति सुम्निमा उदासले समाचार संकलनका लागि आएका पत्रकारहरूलाई बैठक कक्षबाट बाहिर निकालेर सुरु भएको छलफलमा सांसदहरूले मन्त्री खनाललाई सीमा सम्बन्धमा प्रश्न गरेका थिए ।

सीमाका विषय कूटनीतिक माध्यमबाट टुंगो लगाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 'नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप, ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट यस विषयको समाधान गर्न हामी सधैँ प्रतिबद्ध रहेको बेहोरा म पुनः निवेदन गर्दछु,' खनालले भनेका थिए ।

मन्त्री खनालले संसदीय समितिमा आफूले दिएको जवाफबारे जानकारी सार्वजनिक गरेका छन् । समितिले परराष्ट्रमन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउनेसँगै विविध विषयमा छलफल  गर्न बैठक बोलाएको हो । भारतसँगको सीमा विवाद सम्बन्धमा सांसदहरू प्रमेशकुमार हमाल, गणेशबहादुर विश्वकर्मा, अभिषेकप्रताप शाह लगायतका सांसदले प्रश्न गरेको मन्त्री खनालले जानकारी दिए ।

सांसद रेनुका काउँचालगायत केही सांसदले मन्त्री खनाललाई सुस्ताको विषय उठाएका थिए । सुस्ताबारे मन्त्री खनालको जवाफ थियो, 'नेपाल र भारतबीच विभिन्न क्षेत्रमा संयन्त्रहरू स्थापना भई क्रियाशील रहेका छन् । सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ । हालै सुस्ता क्षेत्रमा १३२ मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुबै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात् मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ । यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एकआपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको बेहोरा जानकारी गराउन चाहन्छु ।'

समितिले के विषयमा छलफल गरेको थियो र के कस्तो निर्णय गरेको छ भन्नेबारे जानकारी दिएको छैन । मन्त्रीको भारत र चीनको भ्रमणबारे छलफल गर्न बोलाइएको बैठकमा पत्रकारहरूलाई रिपोर्टिङ गर्न दिएमा सांसदले बोलेका विवरण बाहिर जाने र भारतीय संचार माध्यमले अपव्याख्या गर्ने भनेर बैठकबाट पत्रकारलाई बाहिर निस्किन अनुरोध गरेको सभापति उदासको भनाइ थियो । संसदीय समितिको बैठक गोप्य गर्ने भनेर पहिल्यै भने निर्णय नलिइएको उनले बताइन् । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully