सभापति लामिछानेले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाह पक्षले कति जना पाउने टुंगो नलाग्दा शाह पक्षले दिन सकेन नाम, कम्तीमा २५ जना आफूले सिफारिस गरेकालाई मनोनीत गर्नुपर्ने शाह पक्षको अडान
What you should know
काठमाडौँ — सत्तारूढ रास्वपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले १२ असारमा भरतपुरमा शपथ लिए । काठमाडौं फर्किएर कार्यभार सम्हाले । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उनले १७ असारमा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा शपथ गराए । तर मनोनयनमा ‘भागबन्डा’ मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी अझै अपूर्ण छ । जबकि, महाधिवेशनस्थलमै मनोनीतको टुंगो लगाएर सामूहिक तस्बिर खिच्नेसम्मको योजना तय थियो ।
रास्वपाका सभापति र ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए । उनीहरू निर्वाचित भएको घोषणा रास्वपा केन्द्रीय निर्वाचन आयोगले १२ असारमा चितवनमै गरेको थियो । रास्वपाको विधानअनुसार ‘पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा १५८ (१५० केन्द्रीय सदस्य, ७ प्रदेश सभापति पदेन केन्द्रीय सदस्य र १ पार्टी सभापतिसमेत) सदस्यीय रहनेछ ।’ पार्टी सभापतिले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यको सिट भने अझैसम्म खाली छ ।
अर्कोतिर, १८ मध्ये सभापतिसहित ७ जना पदाधिकारी मात्रै चयन भएका छन् । सभापतिले मनोनयन गर्ने वरिष्ठ नेतासहित १२ पदाधिकारी पद रिक्त छन् । वालेन्द्र शाह पक्षका नेताहरूका अनुसार सभापतिले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यमा आफ्नो पक्षबाट कति जनालाई सिफारिस गर्ने भन्ने निश्चित नहुँदा नाम दिन ढिलाइ भएको हो । मनोनयनबाट आउने ५१ केन्द्रीय सदस्यको आधा संख्या (कम्तीमा २५ जना) आफूले सिफारिस गरेका व्यक्तिलाई मनोनीत गर्नुपर्ने माग वरिष्ठ नेता शाह पक्षले सभापति लामिछानेसमक्ष राखेको विगतमा शाहको निकट रहेर काम गरेका एक नेता बताउँछन् ।
‘वरिष्ठ नेताको पक्षबाट मनोनीत हुनेमा अलि बढी प्रस्ताव भएका छन्, आधाजस्तो माग भएकाले कति जनालाई गर्ने भनी सभापतिले भन्नुहुन्छ, त्यसअनुसार सिफारिस हुन्छ, अहिलेसम्म वरिष्ठ नेताले कसैको नाम पनि सिफारिस गर्नुभएको छैन, संख्या टुंगो नलागेर होला,’ उनी भन्छन् ।
रास्वपा महामन्त्री विपिन आचार्यले भने केन्द्रीय समितिको आगामी बैठकमा केन्द्रीय समितिका केही पदमा मनोनयन हुने बताए । सभापति लामिछानेलाई विधानले मनोनयन गर्ने अधिकार दिएको र त्यसको प्रयोगबारे छलफल र परामर्श भइरहेको उनको भनाइ छ । ‘मनोनीत गर्ने पदका विषयमा सभापतिले छलफल गरिरहनुभएको छ, मनोनयनको विषय धेरै टाढा जाँदैन,’ आचार्यले भने, ‘आफूले लिने निर्णयबारे विभिन्न नेता र उपयुक्त समयमा उपयुक्त व्यक्तिसँग सल्लाह गर्नुहुन्छ ।’ सभापतिले मनोनयन गर्ने व्यक्तिको नाम केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने रास्वपाको विधानमा व्यवस्था छ ।
सहमहामन्त्री असिम शाहले मनोनयन गर्ने पदमा सभापति लामिछानेले प्रधानमन्त्री शाहसँग परामर्श गरेर टुंगो लगाउने बताए । ‘सभापति र वरिष्ठ नेताले बसेर यसलाई टुंगो लगाउनुहुन्छ, निर्वाचनबाट केन्द्रीय समितिमा ५१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको छ, त्यो संख्या कायमै राख्ने कि भन्ने छ, समावेशितालाई पनि ध्यान दिनुपर्छ, दुई नेताबीच छलफल गरेर मनोनयन गर्नुपर्ने भएकाले समय लागेको हो,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका शाहले भने ।
सभापति लामिछाने चितवनबाट फर्किएपछि दुई नेताबीच फोनमा कुराकानी भएको र मनोनयन गर्ने संख्याबारे सैद्धान्तिक सहमति जुटेको शाहको दाबी छ । ‘केन्द्रीय सदस्य मनोनयन गर्नेबारे सैद्धान्तिक सहमति भइसकेको छ, कस्तो व्यक्ति ल्याउने भन्ने विषयमा समझदारी छ,’ उनले भने, ‘जसरी प्रतिनिधिसभा चुनावमा टिकट वितरण गर्दा दुई जना बसेर टुंगो लगाउनुभएको थियो, त्यसरी नै दुई नेता बसेर केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन टुंगो लगाउनुहुन्छ ।’
महाधिवेशनबाट सभापति लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा असिम शाह, निशा डाँगी र हरि ढकाल निर्वाचित भएका छन् । वरिष्ठ नेतासँगै सभापतिले मनोनयन गर्ने १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष गरी १२ पद रिक्त छ । वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह हुनेछन् । अन्य पदाधिकारीमा भने कसलाई मनोनयन गर्ने भन्ने तय सभापति लामिछानेले गरिसकेका छैनन् ।
मनोनयनबाट आउने उपसभापति शाह पक्षको हुने समझदारी रास्वपा नेतृत्वमा छ । तर, त्यो पदमा कसलाई पठाउने भन्ने निर्णय शाहले गरिसकेका छैनन् । यो पदमा यसअघि सुनील लम्साललाई पठाउने तयारी थियो । पछिल्लो समय सुधन गुरुङलाई पठाउने चर्चा पनि चलिरहेको छ । लम्साल भौतिक पूर्वाधारमन्त्री हुन् भने गुरुङ गृहमन्त्री हुन् । पार्टीमा सिनियर भएकाले लम्साललाई उपसभापति बनाउने कि जेन–जी आन्दोलनको नेता, आदिवासी जनजाति प्रतिनिधित्व र रवि–वालेन्द्र मिलाउन भूमिका खेलेका आधारमा गुरुङलाई भन्नेबारे चर्चा भइरहेको रास्वपाका शीर्ष नेताहरूले बताएका छन् । महामन्त्रीमा कसलाई पठाउने भन्ने चर्चा पनि निर्क्योल भइसकेको छैन । यसअघि शाहका तर्फबाट भूपदेव शाह रास्वपाका महामन्त्री भएका थिए । पछिल्लो समय भूपदेवलाई अन्यत्रको जिम्मेवारी दिएर महामन्त्रीमा अर्को व्यक्ति पठाउने कि भन्नेबारे चर्चा चलिरहेको बताइएको छ ।
