सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ । - भीष्मराज आङ्देम्बे
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई प्राथमिकता नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नेता आङ्देम्बेले भने, 'म प्रधानमन्त्रीजीलाई गम्भीरतापूर्वक सोध्न चाहन्छु कि यदि संसद् नै तपाईंको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ?'
प्रधानमन्त्री शाहले संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा लेख्न मन पराउने गरेको पनि आङ्देम्बेको भनाइ छ । उनले भने, 'यदि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ?'
नेता आङ्देम्बेले लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा नभएको पनि बताए । 'प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन । अझै बुझ्नेगरी भन्नु पर्दा फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कटाइरहेका हुन्छौँ । र म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु- सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो त्याग्नुहोस् । भुलिदिनुहोस् । तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो । प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस् । एक्सप्रेस वेमा नै ड्राइभ गर्नुहोस् तर निकै सम्हालिएर । दुर्घटनामा पर्दा तपाईं मात्रै होइन सिङ्गो देश दुर्घटनामा पर्छ ।'
संसद्मा विपक्षी दलका नेताले बोल्ने बेलामा प्रधानमन्त्री आउने चलन रहेको पनि उनले स्मरण गराए । उनले भने, 'संसद्मा जब जब विपक्षी दलका नेताले बोल्छन् संसारका लोकतान्त्रिक शासन व्यवस्था भएका देशका प्रधानमन्त्रीहरु मुस्कुराउँदै अघिल्लो बेन्चतिर बस्छन् । तर यहाँ हाँस्द हाँस्दै विपक्षी नेतालाई सुन्नुपर्नेमा प्रधानमन्त्रीजीलाई मैले देखिरहेको छैन। यसका बाबजुद म उहाँलाई फेरि पनि खोज्दिनँ ।'
