रास्वपाका सांसदहरुका लागि शुक्रबार आयोजना गरिएको कार्यक्रमपछि सभापति लामिछानेले सरकारले गरेका विकास निर्माणका कामको परिणाम भने तत्काल नदेखिने बताए ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारले सुरुका १०० दिनमा सुशासनका काममा ध्यान दिएको बताएका छन् ।
रास्वपाका सांसदहरुका लागि शुक्रबार आयोजना गरिएको कार्यक्रमपछि सभापति लामिछानेले सरकारले गरेका विकास निर्माणका कामको परिणाम भने तत्काल नदेखिने बताए । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलक्ष्यमा लामिछानेले आफ्ना धारणा संचारकर्मीमाझ राखेका हुन् । ‘सरकारले यो १०० दिनमा नागरिकसँग सम्बन्धित विषयहरुमा बढी जोड लगायो । सरकारले अहिले यो १०० दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ,’ लामिछानेले भने, ‘सुशासनका मुद्दामा बढी ध्यान गयो तुलनात्मक रुपमा । विकास निर्माण र दूरगामी विषयहरुमा आज गरिएको कामको प्रभाव अलि पछाडि देखिँदै आउँछ । भौतिक पूर्वाधारका क्षेत्रमा तीन वर्षलाई प्याकेज बनाएर काम गरेका छौं, जसको नतिजा तीन वर्षअगाडि अपेक्षा गर्न केही गाह्रो हुन्छ ।’
सभापति लामिछानेले सरकारले जनताका दैनिक सेवा दिने कुरालाई सहज बनाउने काममा पनि सरकार लागेको बताए । विगतका दिनमा झन्झटिलो हुने सेवालाई सहज बनाइएको उनको भनाइ थियो । ‘तत्काल देखिने नतिजाहरुमा पनि निरुन्तर काम भएकै छन् । सुशासन सरकारको अहिलेको प्राथमिकता भएकाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा, जहाँ नागरिकको हुल हुन्छ, जहाँ नागरिकले सेवा प्राप्त गर्ने हुन्छ तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ, सुरुवात भएको छ,’ उनले भने ।
सरकारले सार्वजनिक रुपमा आउने सुझावलाई स्वीकार गरेर अगाडि बढ्ने पनि उनले बताए । उनले सरकार जनताका कुरा सुनेर परिपक्व ढंगले अगाडि बढ्न तयार रहेको बताएका हुन् ।
नागरिकका विषय सम्बोधन गर्न, सुशासनका कदम चाल्ने विषयमा सरकार पहिलो १०० दिनमा सफल भएको सभापति लामिछानेको भनाइ थियो । उनले नागरिकलाई सम्बोधन गर्न र सुशासनको सवालमा सरकार सफल भएको दाबीसमेत गरे।
