आयुक्तमा राजीव सुब्बा र गुरुप्रसाद वाग्ले सिफारिस
काठमाडौँ — संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभा उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिइन् । सुब्बा पूर्वडीआईजी र वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन् ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
