प्रदेशसभा खारेजीको प्रस्तावविरुद्ध एकजुट हुँदै मधेशवादी दल

सरकराले औपचारिक रुपमा प्रस्ताव अघि बढाए प्रतिवाद गर्ने चेतावनी।

असार १९, २०८३

गंगा बीसी

Madhesh pro-party groups unite against the proposal to abolish the Provincial Assembly

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेशकेन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले बिहीबार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढाए प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । 

यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रस्ट पार्नुपर्ने माग मधेशवादी दलका नेताहरूको छ । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले रास्वपाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा कान्तिपुरसँगको कुराकानीमा व्यक्त गरेका छन् ।

सैद्धान्तिक रूपमा प्रदेशको पुनःसंरचना गर्ने विषयमा सहमत हुन सकिए पनि प्रदेशसभा खारेजले संघीयता नै कमजोर बनाउने जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाइ छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामा प्रहार भए प्रतिवाद गर्ने बताएका छन् । उनले ‘संघीयता सयौं मधेशी जनताको बलिदानीबाट प्राप्त उपलब्धि भएको’ भन्दै प्रदेशसभाबिना संघीयता हुनै नसक्ने बताए । अध्यक्ष यादवले रास्वपा महाधिवेशनमा आएको प्रस्ताव सरकारको नभएकाले अब सरकारको निर्णय महत्त्वपूर्ण हुने बताए । ‘हामी संविधान संशोधनबारे सरकारले ठोस प्रस्ताव ल्याएपछि छलफल गर्छौं,’ उनले भने ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शाहले चुनावीसभाका बेला जनकपुरमा दिएको अभिव्यक्तिविरुद्ध महाधिवेशनमा प्रस्ताव आउनु राजनीतिक बेइमानी भएको बताए । ‘संघीयता बलियो बनाउने अपेक्षाका साथ मधेशका जनताले रास्वपालाई जिताए, अहिले आएर प्रदेशसभा खारेजीको प्रस्ताव ल्याउनु राजनीतिक बेइमानी हो,’ उनले भने, ‘अधिकार, विकास, समानताका लागि संघीयता आवश्यक पर्ने भएकाले प्रदेशसभा खारेजी प्रस्ताव गलत छ भनेर हामीले सूचना प्रवाह गरिरहेका छौं ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभिन्न अंग प्रदेशसभा भएकाले त्यसको खारेजी भए लोकतन्त्र नै नरहने तर्क गरे । ‘प्रदेशसभा नरहे लोकतन्त्र रहँदैन भन्ने अरू दल (कांग्रेस, एमाले, नेकपा) ले पनि बुझ्नुपर्छ,’ उनले कान्तिपुरसँग भने ।

Madhesh pro-party groups unite against the proposal to abolish the Provincial Assembly

०७२ मा जारी भएको संविधान मस्यौदा समितिका सदस्य एवं जसपा नेपालका नेता लक्ष्मणलाल कर्णले प्रदेशसभाबिनाका प्रदेशहरूको अर्थ नहुने बताए । ‘सरकारी कार्यदलले संविधान संशोधन बहसपत्र बनाउन छलफल गरिरहेका बेला प्रदेशसभा खारेज गर्ने प्रस्ताव गम्भीर छ । प्रदेशसभाबिनाका प्रदेशहरूले काम गर्न सक्दैनन् । त्यसले प्रदेशको मर्म मार्छ,’ उनले भने, ‘प्रदेशसभालाई रिमोडल भने गर्न सकिन्छ, प्रदेशका 

अप्ठ्याराबारे सोच्न सकिन्छ ।’ उनले प्रदेशसभा खारेजको प्रस्ताव आएमा त्यसलाई अस्वीकार गर्दै आन्दोलन सुरु गर्ने बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग मधेशवादी दलहरूले बिहीबार भेटेर प्रदेशसभा खारेजीको प्रस्तावमा आफूहरूको असहमति र असन्तुष्टि राखेको पनि नेता कर्णले बताए ।

‘हामीले संविधान संशोधन गर्दा संविधानका प्रस्तावनामा भएका आधारभूत फन्डामेन्टल विषयमा तलमाथि गर्न हुँदैन, त्यसमै टेकेर सहमति हुन्छ भने छलफल गरौं भन्यौं’ उनले भने, ‘प्रदेशसभा खारेजीबारे महाधिवेशनका प्रस्ताव आए पनि त्यस विषयमा कुनै निर्णय नगरेको कार्यदलका सदस्यहरूले जानकारी दिनुभयो । तर हामीले संघीयतालाई कमजोर हुने गरी प्रदेशसभा नराख्ने प्रस्ताव मान्य नहुने मत राख्यौं ।’

जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश, थारू, जनजाति आन्दोलनबाट प्राप्त संघीयतालाई कमजोर हुने गरी प्रदेशसभा खारेज गर्ने प्रस्तावले रास्वपाको नियतमाथि आशंका जन्माएको मधेशकेन्द्रित दलहरूको भनाइ छ । रास्वपाको प्रस्तावमाथि आन्तरिक छलफल गरी सकेसम्म साझा धारणा बनाउने तयारीमा उनीहरू छन् ।

माघ ५ मा जनकपुरमा आयोजित चुनावीसभामा वालेन्द्र शाहले प्रदेशहरू अधिकार खोज्न काठमाडौं जान नपर्ने बताएका थिए । प्रदेशहरू अधिकारसम्पन्न हुने बताएका थिए । ‘अधिकार माग्न काठमाडौं जानु पर्दैन, पशुपति र स्वयम्भू घुम्न जानुस्’ उनले मैथिली भाषामा भनेका थिए । तर यसलाई खण्डित गर्ने गरी रास्वपा महाधिवेशनमा प्रदेशसभा खारेजीको प्रस्ताव आएको थियो । 

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजीसहित संघीयताको पुनःसंरचना गर्ने प्रस्ताव पेस गरेका थिए । उनको यो प्रस्ताव सभापति रवि लामिछानेको पूरक प्रस्तावकै रूपमा महाधिवेशनले पारित गरेको थियो । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं ७५३ संख्याको पालिका एकतिहाइ कटौती, प्रदेशसभाको खारेजीसहित संघीयताको पुनःसंरचना, न्याय परिषद्लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार र मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरणजस्ता शासकीय सुधारका एजेन्डा रास्वपाले बहसका लागि प्रवेश गराइसकेको छ,’ वाग्लेको प्रतिवेदनमा भनिएको छ ।

तर सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रदेशसभा र प्रदेश सरकारको पुनःसंरचना गर्ने उल्लेख छ । ‘हामी प्रदेशसभा र प्रदेश सरकारको पुनःसंरचनाको पक्षमा छौं,’ प्रतिवेदनमा भनिएको छ । 

मधेश प्रदेशसभा सदस्यसमेत रहेका जसपा नेपालका नेता जितेन्द्र सोनालले उत्पीडनमा परेको मधेशी, जनजाति, मुस्लिम, थारू समुदायको आन्दोलन, संघर्ष र बलिदानबाट संघीयता स्थापना भएकाले त्यसलाई कमजोर बनाउने कार्यको विरोध हुने बताए । ‘प्रदेशहरूको पहिचान छ, अधिकार र जनताको जवादेहितालाई सुरक्षित गरेको छ,’ उनले भने, ‘प्रदेशसभा खारेजीले अर्को द्वन्द्व निम्त्याउँछ ।’

प्रदेशहरूलाई बलियो बनाउन विगतमा कमजोरी भएको उल्लेख गर्दै उनले अब हुने संविधान संशोधनले झन् बलियो बनाउनुपर्ने बताए । ‘प्रदेशहरू बलियो बनाउन मधेश तराईका जनताले जिताएको हो,’ उनले भने, ‘प्रदेशसभा बलियो बनाउन रास्वपाले भूमिका खेल्नुपर्नेमा कमजोर बनाउने काम गर्नु हुँदैन । विगतमा प्रदेशहरूलाई बलियो बनाउन दलहरू चुकेकै हो ।’

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी पनि ठूलो आन्दोलन, बलिदान र त्यागबाट आएको संघीयता र प्रदेशसभा खारेजीबारे सोच्न पनि नसकिने बताउँछन् । ‘प्रदेशहरूको मोडलबारेमा छलफल भइरहेको छ, यसलाई बलियो बनाउन प्रदेशसभा सदस्यको संख्या घटाउन सकिन्छ,’ उनले भने, ‘प्रदेशसभा खारेज गर्ने प्रस्तावले भने समस्या निम्त्याउँछ ।’

संघ, प्रदेश र स्थानीय सरकारका कामकारबाही अझ प्रभावकारी बनाउन संविधान संशोधनको बाटोबाट अघि बढ्न सकिने उनको भनाइ छ । ‘अहिले कोही पनि संघीयताविरुद्धमा हुनुहुँदैन,’ उनले भने, ‘रास्वपा महाधिवेशनमा प्रदेशसभा खारेजीको प्रस्ताव आयो तर सरकारले आधिकारिक रूपमा अघि बढाएको छैन, प्रस्ताव अघि बढाउनु उचित पनि हुँदैन ।’

रास्वपा महामन्त्री विपिन आचार्य भने प्रदेशको पुनःसंरचना गर्नेबारे व्यापक बहस हुनुपर्ने बताउँछन् । ‘यसका कोर्स के हुन्, टर्म्स के हुन् भनेर घनीभूत छलफल भएपछि बल्ल अर्को निर्णयमा जाऔं, व्यवस्था परिवर्तनको विषयमा बृहत् बहस हुनुपर्छ,’ उनले हालै कान्तिपुरलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सभापतिले प्रस्तुत गर्नुभएको दस्ताबेजमा पनि कहींकतै प्रदेश खारेज गर्नुपर्छ भन्ने उल्लेख छैन । उपसभापतिको प्रतिवेदनमा प्रस्तुत विषयमा केही ‘कन्फ्युजन’ थियो । सभापतिको प्रतिवेदनमा जे विषय आएको हो, त्यो नै पार्टीको अन्तिम लाइन हो भन्ने कुरा बुझ्नुपर्छ ।’

गंगा

Link copied successfully