मोरङ स्थायी घर भएका कार्की सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार हुन् । यसअघि तत्कालीन कामु प्रधानन्यायाधीश मल्लको आदेश अवज्ञा गरेको भन्दै उनी विवादमा मुछिएका थिए ।
What you should know
काठमाडौँ — संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका बहालवाला रजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरेको छ ।
शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तहरूमा राजीव सुब्बा र गुरू वाग्लेलाई सिफारिस गरेको हो । अब संसदीय सुनुवाइ समितिले सिफारिस नामहरू अनुमोदन गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले सम्बन्धित पदमा नियुक्त गर्नेछन् ।
कार्की यसअघि उच्च अदालत पाटनको रजिस्ट्रारसमेत थिए । त्यस्तै उनी केही समय न्याय परिषद्मा समेत थिए । गत जेठमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ गर्ने आदेशविरुद्धको निवेदन दर्ता गर्न तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश पालना नगरेको भन्दै मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार कार्की विवादमा मुछिएका थिए ।
संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्को उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले २५ वैशाखमा रिट पेस गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।
त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरपीठविरुद्धको निवेदन दिएका थिए । त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद कामु प्रधानन्यायाधीश मल्लसमक्ष पुगेको थियो । त्यसपछि समय तोकेरै मल्लले रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् ।
कामु प्रधानन्यायाधीश मल्लले यस्तो आदेश गरेलगत्तै रिट निवेदकहरू उक्त निवेदन लिएर मुख्य रजिस्ट्रार र मुद्दा दर्ताको जिम्मेवारी तोकिएका रजिस्ट्रार मानबहादुर कार्कीसमक्ष पुगे । मुख्य रजिस्ट्रार पौडेल आफ्नो मिटिङ भएको भनी सर्वोच्च अदालतबाट बाहिरिएका थिए । रजिस्ट्रार कार्की पनि केही समय अध्ययन हुने भएकाले पर्खिनुस् भन्दै बाहिरिएका थिए ।
