संविधानको मूल चरित्र नष्ट गर्ने संशोधन स्वीकार्य छैन : जसपा नेपाल

संविधानको मूल विशेषता र संघीय संरचना कमजोर बनाउने संशोधनको प्रयास भए सशक्त प्रतिरोध गर्ने चेतावनी सहित जसपाले सरकारलाई सचेत गराएको छ ।

असार १९, २०८३

कान्तिपुर संवाददाता

Amendments that destroy the original character of the Constitution are unacceptable: JSP Nepal

What you should know

काठमाडौं — जनता समाजवादी (जसपा)नेपालले ‘संविधान संशोधन सम्बन्धी’ धारणा सार्वजनिक गर्दै संविधानको मूल चरित्र र आधारभुत विशेषतालाई नास गरेर संविधान संशोधन गर्न नहुने बताएको छ । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला जसपाले शुक्रबार आधिकारिक धारणा सार्वजनिक गरेको हो । 

‘विश्वका प्रमुख संविधानहरूमा असंशोधनीय प्रावधान  रहेको पाइन्छ । जसलाई संविधान संशोधनको सामान्य प्रक्रियाद्वारा परिवर्तन गर्न रोक लगाइएको हुन्छ,’ जसपा नेपालले सार्वजनिक गरिएको धारणमा भनिएको छ, ‘यी प्रायः राष्ट्रको मूल पहिचान, देशको सार्वभौमसत्ता, आधारभूत मानव अधिकार, लोकतन्त्र, संघीयता, राष्ट्रिय एकता र अखण्डता, राज्यको आधारभुत संरचना, कानुनी राज्य, धर्मनिरपेक्षता, मानव मर्यादा, नागरिक स्वतन्त्रता, संविधानका आधारभूत सिद्धान्त, गणतन्त्रात्मक शासन प्रणाली, राष्ट्रिय स्वतन्क्रता, मौलिक अधिकार, शक्तिको पृथकीकरण तथा न्यायपालिकाको स्वतन्त्रतालगायत प्रावधानलाई स्थायी रूपमा सुरक्षित गरिएका हुन्छन् ।’

जसपा संघीयतासहित आधारभूत चरित्रलाई मासेर संविधान संशोधनको विपक्षमा उभिएको छ । ‘जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको सर्वोच्चता, कानुनी शासन, शक्तिको पृथकीकरण तथा सन्तुलन, स्वतन्त्र र निष्पक्ष न्यायपालिका, मौलिक तथा मानव अधिकार, समानुपातिकता र सामाजिक न्याय, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचानको संरक्षण, राष्ट्रिय एकता, स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता, संघीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, समावेशिता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, बहुदलीय लोकतन्त्र तथा संविधानको मूल चरित्र र आधारभूत विशेषताहरूलाई नष्ट हुने गरी संविधान संशोधन गर्नु हुँदैन,’ जसपा नेपालको भनाइ छ । 

समानता, स्वतन्त्रता, न्याय र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले वर्षाौदेखि गर्दै आएका जनआन्दोलन, सशस्त्र सङ्गर्ष, ऐतिहासिक मधेश जनविद्रोह, त्याग र बलिदानको जगमा संविधानसभाबाट घोषणा गरिएको नेपालको संविधान–२०७२ को प्रस्तावना तथा धारा ५६ मा समेत राज्यको मूल संरचना संघीय लोकतान्त्रिक गणतन्त्र रहेको भन्दै केही प्रावधान अशंसोधनीय भएको जनाएको छ । ‘संविधानको धारा २७४ ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नसकिने व्यवस्था गरेको छ’ उसले भनाइ छ, ‘यसरी विश्वका प्रमुख संविधानहरूमा असंशोधनीय प्रावधान राख्नुको मुख्य उद्देश्य लोकतन्त्र, मानव अधिकार, कानुनी शासन, राज्यका आधारभूत स्वरूप, राष्ट्रिय एकता तथा संविधानको स्थायित्वको संरक्षण गर्नु हो । संविधानका यस्ता प्रावधानहरूलाई सामान्य राजनीतिक बहुमतका आधारमा परिवर्तन गर्न नदिने उद्देश्यले असंशोधनीय बनाइएका हुन्छन् । यसले संविधानलाई क्षणिक राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रको दीर्घकालीन हित सुरक्षित गर्न मद्दत गर्दछ ।’

संविधानका मूलभूत विशेषताहरूको संरक्षण र संस्थागत गर्दै राजनीतिक दल तथा सरकारले स्वतन्त्रता, समानता, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको लक्ष्य प्राप्तितर्फ ध्यान केन्द्रित हुनुपर्नै जसपाको भनाइ छ । ‘क्षणिक राजनीतिक स्वार्थका लागि लोकतान्त्रिक गणतन्त्र तथा समावेशी लोकतन्त्रको जग नै नष्ट हुने गरी संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशितालाई भत्काउने प्रयास भए त्यसको सशक्त प्रतिरोध हुनुपर्नेछ । अन्यथा मुलुक पुनः जातीय वा क्षेत्रीय द्वन्द्व तथा अशान्तितर्फ धकेलिन सक्छ ।’

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संघीय शासन प्रणालीको सिद्धान्त र भावनाअनुरूप संघीयताको प्रभावकारी कार्यान्वयन, शासकीय स्वरूप, निर्वाचन प्रणालीमा संविधान संशोधनमाथि आफ्नो भनाइ सार्वजनिक गरिएको हो ।

कान्तिपुर

Link copied successfully