यसअघि केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गर्दा प्राविधिक त्रुटि भएको भन्दै रास्वपा केन्द्रीय निर्वाचन आयोगले नयाँ सूची सार्वजनिक गरेको हो ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूचीमा हेरफेर भएको छ । असार ७ देखि १२ गतेसम्म चितवनमा आयोजित पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनमा हेरफेर गरिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले यसअघि केन्द्रीय सदस्य निर्वाचित भएको भनी घोषणा गरिएका दुई जनाको विषयमा निर्णय लिएको हो । रास्वपाले जनजाति क्लस्टरतर्फ यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा गरेको थियो । तर, रास्वपा केन्द्रीय निर्वाचन आयोगले श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापा मगरलाई निर्वाचित भएको घोषणा गरेको छ ।
'निर्वाचित हुनेको परिणाम घोषणामा भएको प्राविधिक त्रुटि सच्याउने सम्बन्धमा छलफल गर्दा प्रारम्भिक रूपमा प्रकाशन भएको केन्द्रीय सदस्य पदको निर्वाचनमा निर्वाचित भएका सदस्यमध्ये पहिलो नतिजा प्रकाशन गर्दा, महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकामा, मतपरिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित भएको देखिएकाले निज ध्रुवकुमार थापा मगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो,' रास्वपा निर्वाचन आयोगको निर्णय छ ।
त्यस्तै, अर्को केन्द्रीय सदस्यको मतपरिणाममा पनि त्रुटि देखिएको भन्दै सच्याइएको छ । रास्वपाले प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मालाई घोषणा गरिएको भन्दै त्रुटि सच्याएको हो । 'प्रादेशिक (भुगोलतर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोला निर्वाचित भएको हुनुपर्नेमा सोम शर्मा हुन गएकाले प्राप्त मतपरिणामको आवश्यक अध्ययन गरी पूजा बास्तोलालाई गण्डकी प्रदेश, प्रादेशिक (भूगोल) तर्फ निर्वाचित घोषणा गर्ने निर्णय गरियो ।'
बास्तोलाले आफ्नो बढी मत हुँदा पनि केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा नगरिएकामा आपत्ति जनाउँदै आयोगमा उजुरी दिएकी थिइन् ।
