संसदीय मैत्री समूहमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट सांसदहरूलाई संयोजक र सदस्य तोकिएको छ ।
काठमाडौँ — संघीय संसद्मा संसदीय मैत्री समूह गठन भएका छन् । सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलपछि विभिन्न देशका लागि संसदीय मैत्री समूह गठन गरेका हुन् । संसदीय मैत्री समूहमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट सांसदहरूलाई संयोजक र सदस्य तोकिएको छ ।
सभामुखको सचिवालयले दिएको जानकारी अनुसार ४३ देशका लागि संसदीय मैत्री समूह गठन गरिएका हुन् । संसदीय मैत्री समूहका संयोजक पनि तोकिएका छन् । नेपाल-भारत संसदीय मैत्री समूहका लागि रास्वपाका सांसद तथा नवनिर्वाचित महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा मैत्री समूह गठन गरिएको छ ।
भारतका लागि गठित संसदीय मैत्री समूहमा विदुषी राणा, अरविन्द साह, पुनम अग्रवाल, चन्द्रमोहन यादव, सन्दीप राना, मोहम्मद इस्तियाक राई, ताहिर अलि भाट, आरेन राई र महन्थ ठाकुर सदस्य छन् ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन गरिएको छ भने नेपाल-अमेरिका संसदीय मैत्री समूह रास्वपाकै निशा डाँगीको संयोजकत्वमा गठन गरिएको छ । नेपाल-रुस संसदीय मैत्री समूहको नेतृत्वमा नेकपाका वर्षमान पुन छन् भने नेपाल-आयरल्यान्ड संसदीय मैत्री समूहको संयोजक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई रहेका छन् ।
नेपाल-फ्रान्स संसदीय मैत्री समूहको नेतृत्व एमालेकी पद्मा अर्यालले पाएकी छन् भने नेपाल-बंगलादेश संसदीय मैत्री समूहको संयोजक कांग्रेसकी सांसद गीता गुरुङ रहेकी छन् ।
